१३ कार्तिक २०८३, शुक्रबार

यस्तो छ निर्वाचन कार्यतालिका, १ र २१ जेठमा स्थानीय तहको निर्वाचन प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले जेठमा स्थानीय तहको निर्वाचन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको छ । ८ फागुनभित्रै निर्वाचन मिति घोषणा गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने प्रस्ताव तयार गरेको छ । पहिलो चरणको १ जेठ र दोस्रो चरणको निर्वाचन २१ जेठमा गर्ने कार्यतालिका आयोगले सरकारलाई बुझाएको छ । सोही कार्यतालिकाका आधारमा सरकारले निर्वाचन मिति घोषणाको तयारी गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन मिति घोषणाको तयारीका लागि बुधबार निर्वाचन आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । आयोगको प्रस्तावित कार्यतालिकाअनुसार नै निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भएको यादवले बताए ।

उनका अनुसार निर्वाचन तयारी गर्न आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनका लागि पनि चिन्ता नगर्न प्रधानमन्त्री प्रचण्डले आश्वस्त पारेका छन् । ‘प्रधानमन्त्रीले निर्वाचन आयोगको प्रस्तावित कार्यतालिकाअनुसार नै अगाडि बढ्ने हो भनेर विश्वास दिलाउनुभएको छ,’ डा। यादवले नयाँ पत्रिकासँग भने ।

आयोगको प्रस्तावित कार्यतालिकाअनुसार स्थानीय तहका गाउँपालिका र नगरपालिकाका कार्यालय स्थापना र सञ्चालन ८ फागुनभित्र भइसक्नुपर्नेछ । ती कार्यालय सञ्चालनमा आएकै दिन निर्वाचन मिति घोषण भएको अवस्थामा काम गर्न सहज हुने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । ‘स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका र नगरपालिकाको सीमा र केन्द्र अनिवार्य आवश्यक हुन्छ,’ मैनालीले नयाँ पत्रिकासँग भने ।

मतदान केन्द्र पुनरावलोकन फागुन दोस्रो सातादेखि चैत पहिलो सातासम्ममा गर्ने आयोगको प्रस्ताव छ । सोही अवधिमा मतदाता नामावली अद्यावधिक गर्ने तथा मतदाता नामावली प्रशोधन र ठेगाना अद्यावधिक भने चैत तेस्रो सातासम्म गर्ने आयोगको प्रस्ताव छ । पहिलो चरणमा मतदान हुने जिल्लाका लागि मतपत्र छपाइ चैत महिनाभर हुनेछ । आयोगले सरकारलाई गरेको प्रस्तावित कार्यतालिकाअनुसार मतदाता शिक्षा र तालिम सञ्चालन भने चैतको पहिलो सातादेखि वैशाखभर हुनेछ ।

प्रस्तावित निर्वाचन कार्यतालिका

-८ फागुन : स्थानीय तह निर्वाचन गर्न कार्यालय सञ्चालन

-८ फागुन : स्थानीय निर्वाचन मिति घोषणा

-फागुन दोस्रो सातादेखि जेठसम्म : निर्वाचन आचारसंहिताको कार्यान्वयन र अनुगमन

-फागुन दोस्रो सातादेखि चैत पहिलो सातासम्म : स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल दर्ता

-फागुन दोस्रो सातादेखि चैत पहिलो सातासम्म : मतदान केन्द्र पुनरावलोकन

-चैत पहिलो साताभित्र : निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक

-चैत तेस्रो साता : मतदाता नामावली प्रशोधन र ठेगाना अद्यावधिक

-चैतभर : पहिलो चरणमा मतदान हुने जिल्लाका लागि मतपत्र छपाइ

-वैशाख तेस्रो साता : निर्वाचनका अन्य आवश्यक सामग्री व्यवस्थापन

-चैतको पहिलो सातादेखि वैशाखभर : मतदाता शिक्षा र तालिम सञ्चालन

-वैशाख पहिलो साता : पहिलो चरणमा निर्वाचन हुने जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन

-१ जेठ : स्थानीय तहको पहिलो चरणको निर्वाचन

-वैशाख दोस्रो साता : दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन

-२१ जेठ : दोस्रो चरणको स्थानीय तहको मतदान