
कतार । वैदेशीक रोजगारीको शिलशिलामा कतार पुगेका ८० जना नेपाली युवाहरु अलपत्र परेका छन् । करिब चार महिनादेखि अलपत्र युवाहरुले सहयोगका लागि अपिल गरेका छन् ।
कतार ल्याउने कम्पनी सञ्चालक कामदारलाई तलब नदिई सम्पर्क विहीन भएपछि उनीहरु अलपत्रमा परेका हुन् । विगत दुई महिनादेखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनेजानेका नेपालीसँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन काट्न बाध्य भइरहेका छन् ।
आफूलाई ल्याउने कम्पनीका अधिकारिक व्यक्तिहरु भागेपछि कतारस्थित नेपाली दुतावासमा पटक–पटक सम्पर्क गर्दा पनि दुतावासले गम्भीरता नलिएको उनीहरुको गुनासो छ । दुताबासले कुनै कानुनी प्रक्रियाका बारेमा पनि जानकारी नदिएकाले कसरी अगाडि बढ्ने भन्नेमा पनि उनीहरु अन्यौलमा परेका छन् ।
खाना र बस्नको लागि समेत उचित स्थान नपाउँदा उनीहरु विरामी समेत भएकाका छन् । उपचार गर्ने रुपैयाँ समेत नहुँदा उनीहरु अब झन समस्या परेका छन् ।
उद्दारका लागि नयाँ शक्तिको पहल
कतारमा थुप्रै नेपालीहरु अलपत्र परेको कुरालाई मध्यनजर गर्दै नयाँ शक्ति नेपालको विदेश विभाग अन्तराष्ट्रिय नेपाली समाज कतारले उनीहरुको उद्दार गर्न पहल गर्ने जनाएको छ ।
कतारका संगठ संयोजक बीबी खराल, मुस्लिम विभागका संयोजक इब्राहिम मिया, कलिम मिया, बसिर मिया, मनोज दाहल लगायतले कतारको सनैयास्थित पीडित क्याम्पमा पुगेर पीडित कामदारसँग छलफल गरेको छ । पीडितसँगको भेटघाटका क्रममा बोल्दै समाजका कतार संयोजक खरालले पीडितलाई तत्काल उद्दारको लागि नेपाल सरकारसंग माग गर्ने बताए ।
साथै सुरक्षित तरिकाले नेपाल फर्काउने वातावरण मिलाउन कतारस्थित नेपाली दुताबास, विभिन्न बैचारिक तथा जिल्ला संघ–संस्थाहरुलाई उनले आग्रह गरे । खरालका अनुसार कानुनी कारबाहीको लागि पीडित कामदारलाई अत्यावश्यक पर्ने अरबी, अङग्रेजी भाषा नआउने भएकाले थप समस्या परेको बताए ।















प्रतिक्रिया