लण्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालका कारण नेपालको राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
मधेशवादीले संविधान शंशोधन भन्नु, एमाले कुनै हालतमा संशोधन नगर्ने पक्षमा रहनु र मधेश नमानेसम्म चुनावको मिति घोषणा गर्दिन भन्ने प्रधानमन्त्रीको हठका कारण देश अर्निणयको बन्दी बनेको पौडेलले बताए ।
स्थानीय, क्षेत्रीय तथा संसदीय निर्वाचन सम्पन्न गरि ताजा जनादेश मार्फत देशलाई अग्रगामी निकास दिनुपर्ने उनले जिकिर गरे । मधेशबादी दल, एमाले र प्रधानमन्त्री दाहाल आ–आफ्नो अडानमा रहेकोले चुनाव घोषणामा ढिलाई भइरहेको पौडेलले उल्लेख गरे ।
कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको वार्षिक तिथिको अवसरमा नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायतले लण्डनस्थित रिगल स्पाईस रेष्टुरेण्टमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले नेपालको भौगोलिक विविधता नै राष्ट्रिय एकता भएको दोहोर्याएका थिए ।
अन्तरक्रियापछि भएको प्रश्नोत्तर कार्यक्रममा गोर्खा सत्याग्रह समितिका सूर्य नेम्वाङ, नेविसंघ बेलायतका प्रतिनिधि कुश बस्नेत, कांग्रेस शुभचिन्तक प्रताप रायमझी लगायतले मन्तव्य राखेका थिए ।
















प्रतिक्रिया