काठमाडौं, ४ फागुन । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुुर श्रेष्ठले आफ्नो पहिलो निर्देशन सम्बोधनमै सशस्त्र प्रहरी बलका सकल दर्जाको ध्यान तान्न सफल भएका छन् ।
पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको १४ महिने कार्यकालमा खस्केको छवि नवनियुक्त आईजीपी श्रेष्ठको कार्यकालमा माथि उठ्नेमा सशस्त्र प्रहरी बलका सकल दर्जाले विश्वास व्यक्त गरेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
गृह मन्त्रालयमा गृहसचिव लोकदर्शन रेग्मीबाट मंगलबार बिहान ११ बजे सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न प्राप्त गरेपछि सशस्त्र मुख्यालय हल्चोक पुगेका नवनियुक्त महानिरीक्षक श्रेष्ठले त्यहाँ गरेको निर्देशन सम्बोधनले धेरै नै अधिकृत तथा जवानको मन छोयो । राईको कार्यकालमा अघि बढ्न नसकेका कामहरू उनको १४ महिने कार्यकालमा अघि बढ्ने विश्वास उनको निर्देशन सम्बोधनमा व्यक्त विचारबाट धेरैमा जागेको पाइयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रेमकुमार शाही, प्रकाश ओझा र शैलेन्द्र खनाललगायत एपीएफ अधिकृत तथा जवानहरूसामु उनले भने, ‘कल्याणकारी कार्ययोजना, सरुवा, बढुवा, मिसनलगायतका विभिन्न अवसरहरूलाई पारदर्शी ढंगबाट अगाडि बढाइनेछ । साथै आर्थिक अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।’
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाल सरकार र नेपाली नागरिकको भरपर्दो सुरक्षा निकायको रूपमा सशस्त्र प्रहरी बललाई स्थापित गर्न आगामी दिनमा अझै मिहिनेत र त्यागका साथ कर्तव्य पथमा समर्पित रहन मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिए ।
गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै उनले अग्रज नेतृत्व वर्गले थालनी गरेको सकारात्मक कार्यलाई निरन्तरता दिँदै सबैको सल्लाह सुझाव अनुरूप अगाडि बढ्ने धारणा राखे ।
सशस्त्र प्रहरी बलका अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू वासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ र दुर्जकुमार राईका अगाडि उनले भने, ‘तपाईंहरूले आआफ्नो कार्यकालमा थालनी गर्नुभएको कामलाई म निरन्तरता दिनेछु । साथै तपाईंहरूकै सल्लाह र सुझावलाई आदर्श मानेर म अघि बढ्नेछु ।’
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भने, ‘देश र जनताको सेवा र सुरक्षामा पेसागत इमानदारिताका साथ मन, वचन र कर्मले कर्तव्यनिष्ठ रहनेछुु । राज्यको मूल्य, मान्यता र नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई अक्षरस पालना गर्दै सुरक्षास्थिति र भूगोलअनुसार आवश्यक कार्ययोजनासहित संगठनका सम्पूर्ण राष्ट्रसेवकहरूलाई चलायमान ढंगले परिचालन गर्नेछु ।’
उनले नेपाल सरकारले आफूलाई सुम्पेको जिम्मेवारीलाई पूरा गर्न सबैको सहयोग र साथमा रहेर व्यक्तिगत क्षमताले भ्याएसम्म प्रभावकारी ढंगबाट लागिरहने पनि बताए ।
सो कार्यक्तमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो ।
सो विशेष समारोहमा गृहसचिव रेग्मीले राज्यले सुम्पेको जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले उपलब्धिमूलक ढंगबाट पूरा गर्दै आएको चर्चा गरेका थिए । उनले नयाँ नेतृत्वले प्राप्त उपलब्धि र पूर्वज नेतृत्व वर्गले गरेका कार्यहरूलाई निरन्तरता दिँदै परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहने विश्वास व्यक्त गरेका थिए ।
‘संगठनको सबैभन्दा ठूलो जिम्मेवारी र चुनौती राज्यले तपाईँलाई सुम्पेको छ’, गृहसचिव रेग्मीले भने, ‘यसलाई पूरा गर्न राष्ट्र, जनता र संगठनलाई शिरमा राखेर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिइएको छ ।’
नेतृत्व वर्गले संगठनका सकल दर्जालगायत सबैको विश्वास जित्दै संगठनलाई सबैको आशा, भरोसा र विश्वासको केन्द्रबिन्दुका रूपमा स्थापित गर्नुपर्ने बताउँदै गृहसचिव रेग्मीले भने, ‘मातहत कर्मचारीको खुसी र पिरमर्कालाई ध्यान दिँदै कार्य गर्न सक्ने नेतृत्व नै सधैं सफल ठहरिन्छ ।’
उनले दायित्व निर्वाह गर्ने शिलशिलामा सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने सल्लाह, सुझाव, निर्देशन र सहयोग उपलब्ध गराउन गृहमन्त्रालय सधैं तयार रहेको कुरासमेत उल्लेख गरे ।












प्रतिक्रिया