१३ कार्तिक २०८३, शुक्रबार

के कुरा भयो प्रचण्ड–ओली भेटमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच आसन्न निर्वाचन, संविधान संशोधनदेखि दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुधारसम्मका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

गत असार तेस्रो साता ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसको सहयोगमा सरकार बनाएयता माओवादी केन्द्रप्रति एमाले अध्यक्ष ओली निकै आक्रामक बन्दै आएका छन् ।

ओलीका आक्रमणको जवाफ प्रधानमन्त्री प्रचण्डले पनि उसैगरी फर्काउने गरेका छन् । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका अध्यक्षबीचको सम्बन्धमा बढेको तिक्तताका कारण मुलुकको राजनीति नै ‘डेडलक’को अवस्थामा छ ।

दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुधार्दै राजनीतिक गतिरोध तोड्न माओवादी केन्द्रका नेता श्रेष्ठ यतिवेला सेतुको भूमिका निभाउन प्रयासरत छन् ।

त्यसो त दोस्रो संविधानसभाबाट संविधान गर्ने समझदारी निर्माणदेखि ओली नेतृत्वमा सरकार गठनका निम्ति पनि श्रेष्ठले दुई पार्टीबीच संयोजनकारी भूमिका निभाएका थिए । ओली सरकारलाई दिएको समर्थन फिर्तापछि बढेको दुई पार्टीको तिक्तता मेट्न पनि श्रेष्ठ सक्रिय भएर लागिरहेका छन् ।

ओलीसँग प्रधानमन्त्रीका प्रस्ताव

(१) फागुन पहिलो हप्तासम्म निर्वाचन मिति घोषणा

प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग फागुनको पहिलो साता सरकारले स्थानीय चुनावको मिति घोषणा गर्ने बताएका छन् । वार्तामा ओलीले तत्काल निर्वाचनको मिति घोषणा गरे मात्रै विश्वासको वातावरण बन्ने बताएपछि प्रधानमन्त्रीले फागुन पहिलो साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् ।
‘जटिलता छन्, संविधान कार्यान्वयन गर्न हामीले तीन तहको चुनाव गराउनैपर्छ, फागुन पहिलो साताभित्र चुनावको मिति घोषणा गरेर जाऔँ, तपाईंहरूले पनि संविधान संशोधनमा सघाउनुहोस्,’ ओलीसँग प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले निर्वाचनको तयारीमा सरकार लागिसकेको भन्दै मधेसकेन्द्रित दलहरूसँग पनि सहमतिको प्रयास भइरहेको बताएका थिए । उनले निर्वाचन हुनेमा आशंका नगर्न पनि आग्रह गरेका थिए ।

‘छिटै निर्वाचनको मिति घोषणा हुन्छ,’ प्रधानमन्त्रीले ओलीलाई विश्वस्त तुल्याउँदै व्यक्त गरेको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर भन्नुभयो, तर हामी अझै पनि ढुक्क छैनौँ । हामी चुनावको मिति घोषणाको प्रतीक्षामा छौँ ।’

(२) स्थानीय तहको चुनाव १ जेठमा

प्रधानमन्त्री प्रचण्डले आगामी १ जेठमा स्थानीय तहको चुनाव गराउने सरकारको तयारी रहेको एमाले नेतृत्वलाई जानकारी गराएका थिए । ‘बजेट भाषणअगावै १ जेठमा निर्वाचन गर्ने गरी सरकार अगाडि जान्छ,’ प्रधानमन्त्रीले ओलीसँग भने । उनले यसपटक मधेसी मोर्चालाई पनि सहमतिमा ल्याई निर्वाचनको वातावरण बनाउन सघाउन एमालेलाई आग्रह गरेका थिए ।

निर्वाचन नगराउने हो भने देशभित्र नकारात्मक परिणाम देखिने सम्भावना रहेकोतर्फ दुवै पार्टी सहमत भएको रावलले जानकारी दिए । ‘संविधान कार्यान्वयनको सिलसिलामा छिटो निर्वाचन नगर्ने हो भने नकारात्मक परिणाम देखिनेछन् भन्नेमा हामी दुवै पक्षको एकै मत रह्यो,’ उनले भने, ‘त्यसो हो भने निर्वाचनको मिति छिटो घोषणा गर्नुप¥यो भन्ने कुरा हामीले राख्यौँ । निर्वाचन घोषणा गरिएन भने उपलब्धिहरू धरापमा पर्छन्, सरकारको औचित्यतामाथि नै प्रश्न उठ्छ । त्यसैले छिटो मिति घोषणा गर्नुहोस् भन्ने कुरा पनि राखेका छौँ ।’

आ–आफ्ना अडान कायमै

श्रेष्ठनिवासमा साढे दुई घन्टा छलफल गरे पनि दुवै पक्ष कुनै सहमतिमा भने पुगेनन् । छलफलमा दुवै पक्षले आ–आफ्ना अडान दोहो-याएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

‘संविधान कार्यान्वयनको जटिलताका विषयमा दुई नेताले गम्भीरतापूर्वक छलफल गरे कुनै निष्कर्ष निस्किएन,’ प्रधानमन्त्रीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो । प्रधानमन्त्रीले पटक–पटक आफू निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै त्यसको वातावरण बनाउन संविधान संशोधनमा सघाउन आग्रह गरेका थिए । एमाले अध्यक्षले भने संविधान संशोधन अहिलेको आवश्यकता नभएको भन्दै पहिले निर्वाचन मिति घोषणाको कुरामा अडान राखिरहेको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीले संविधान संशोधनमा सघाई सहमतीय राजनीति अगाडि बढाउन प्रस्ताव गर्नुभयो,’ स्रोतले भन्यो, ‘तर, एमाले अध्यक्षले पटकपटक निर्वाचनको मिति घोषणापछि मात्र संशोधन अगाडि बढाउन आग्रह गर्नुभयो ।’

सुप लिँदै छलफलमा बसे

छलफलका लागि एमाले अध्यक्ष ओली उपाध्यक्ष भीम रावललाई लिएर बिहान ९ः४० बजेतिर श्रेष्ठनिवास पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड त्यसभन्दा केही अघि नै श्रेष्ठनिवास पुगेका थिए । प्रधानमन्त्रीसहितका नेताहरू मध्याह्न १२ बजेपछि श्रेष्ठनिवासबाट बाहिरएका थिए ।

छलफलका क्रममा डिनरका लागि श्रेष्ठले आग्रह गरेका थिए । सुरुमा कालो चिया पिएर छलफल थालेका नेताहरूले त्यसपछि सुपसहित खाजा खाएर उठेको श्रेष्ठका सहयोगी सुशान्त श्रेष्ठले जानकारी दिइन् ।

भेटवार्तापछि श्रेष्ठ दिल्लीमा

एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरूको छलफलपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने शुक्रबार नै नयाँदिल्ली लागेका छन् । पार्टीनिकट अखिल भारतीय एकता मञ्चको एकता भेलालाई सम्बोधनका लागि श्रेष्ठ दिल्ली लागेका हुन् । श्रेष्ठ माओवादी केन्द्रको विदेश विभाग प्रमुखसमेत हुन् । दिल्लीमा रहँदा उनले भारतीय जनता पार्टी, कांग्रेस आईलगायतका पार्टीका नेताहरूसग पनि राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रको विदेश विभागले जनाएको छ ।