कैलाली, २८ माघ । घर सफा राख्न सबैभन्दा पहिले गाउँनै सफा राख्नुपर्छ भन्ने बुझेका छन्, कैलालीको पहलमानपुर शिसैया वडानम्बर– ३ का महिलाहरुले ।
यहाँका महिलाहरु साप्ताहिक रुपमा गाउँ सफा गर्न कुचो लिएर एकाविहानै एक ठाउँमा जम्मा हुन्छन् र सडक, गल्लीहरुमा बाँडिन्छ । हातमा कुचो लिएर महिलाहरु सडक तथा गल्लीमा गएको दृष्य हरेक हप्ताको मंगलबार देखिन्छ । हरेक दिन विहान आफ्नो घरको आँगन बढार्नमा व्यस्त हुने यहाँका महिलाहरु मंगलबार भने सडक तथा गल्लीहरु बढारिरहेका देखिन्छन् ।
थारु समुदायको बढी बसोबास भएको सो ठाउँका महिलाहरुले गाउँलाई सफा राख्न समूहनै गठन गरेरका छन् । समूह गठन गरेर गाउँ सफाई अभियानमा लागेर महिलाहरुले उदाहरणीय काम गरेको स्थानीय बताउँछन् ।
गाउँमा विभिन्न किसिमका रोगहरु भित्रिन नपाउन भनेरनै महिलाहरु एक जुट भएर गाउँ सफाई अभियानमा लागेको गाउँ सफाई समूहकी अध्यक्ष फूलमती चौधरी बताउँछिन् ।

‘आफ्नो गाउँको क्षेत्रभित्र पर्ने सबै ठाउँमा हामी सफाई गर्छौं’ उनी भन्छिन्, ‘आफ्नो गाउँ अरुले आएर सफा गर्ने होइन्, अरुको मुख ताक्दै बसेर गाउँ सफा हुने होइन् ।’
गाउँलाई सफा राख्न सक्यो भने गाउँको मात्रै नभई आफ्नो पनि इज्जत–प्रतिष्ठा बढ्ने उनको बुझाई छ । महिलाहरु अहिले आफ्नो गाउँ सफा राख्नका लागि स्वस्फूर्त रुपमा सहभागिता जनाइरहेका छन् ।
यद्यपी गाउँ सफाई कार्यक्रममा नआउने महिलाहरुको लागि जरिवाना समेत तोकिएको शिसैया खोप केन्द्रकी अध्यक्ष कमला चौधरीले बताइछिन् । उनले भनिन् ‘हामीले महिलाहरुलाई नियममा बाध्नका लागि मात्रै यो बनाएका हौं, महिलाहरु सफाई कार्यक्रममा आइरहेका छन् ।’
महिलाहरुले सफाई कार्यक्रमका दिन आउँदै नआएकालाई २० रुपैयाँ, केही ढिला आउनेबाट १० रुपैयाँ जरिवाना तोकेका छन् ।
टीआर कठरियाको सहयोगमा ।













प्रतिक्रिया