१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रको समस्या समाधान गर्न तीन ठूला दल मिल्नुपर्छः गगन थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २५ माघ । स्वास्थ्यमन्त्री गगन थापाले देशको समस्या समधान गर्न देशका ठूला राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताएका छन् ।

मंगलवार गुल्मीको हस्तिचौरमा हिमालय माविलाई नमूना प्राविधियुक्त शैक्षिक संस्था बनाई क्याम्पस संचालन गर्न शैक्षिक तथा धार्मिक महोत्सवको मंगलवार उद्घाटन गर्दै देशमा उत्पन्न समस्यालाई समाधान गर्न देशका ठूला दल कांग्रेस, एमाले, माओवादी एक ठाउँमा उभिएर समस्या समाधान हुने बताए ।

कांग्रेस नेतासमेत रहेका मन्त्री थापाले शैक्षिक संस्थाको वृद्धि र विकासका निम्ती हस्तिचौरबासीले देखाएको सक्रियताको प्रसंसा गरे । ‘राज्यको आशले मात्र सबै कुरा सम्भव हुँदैन,’ उनले भने– ‘समुदाय स्तरबाट पनि केहि गर्न सकिन्छ भन्ने प्रमाण यो महोत्सव हो ।” मन्त्री थापाले अबको शिक्षा व्यवसायिक र प्रविधियुक्त भएकाले यो अभियानलाई सफल बनाउन आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

अबको पाँच बर्षमा कुनै पनि स्थानमा स्वास्थ्यचौकी र अस्पतालका भवन माग्दै जानु नपर्ने मन्त्री थापाको भनाई छ । भवन निर्माणको लागि राज्यसंग स्रोतको कमी नभए पनि मान्छेमा इच्छा शक्ति कमजोर रहेको थापाले बताए । हस्तिचौर स्वास्थ्यचौकीको भवन शिलन्यास गर्दै मन्त्री थापाले भने– ‘देशभरका स्वास्थ्यचौकी र अस्पतालका भवन बनाउन करिब ६० अर्ब लाग्ने रहेछ त्यसको लागि प्रक्रिया शुरु भएकाले अबको पाँच बर्षमा कुनै भवन बन्न बाँकी रहँदैन ।’ उनले स्वास्थ्य मन्त्रालय अन्तरगत रहेका थुप्रै समस्या मध्ये भवन शिलन्यास हुने तर सम्पन्न नहुने प्रवृति रहेको बताए ।

शिक्षा र स्वास्थ्य नागरिकका मौलिक अधिकार भएकाले अबको शिक्षा भनेको विद्यार्थी विद्यालयबाट निस्कदा क्षमतावान र सीपयुक्त बनाउनु चुनौतिको बिषय रहेको बताए । महोत्सवमा १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका सङ्कल्पकर्ता गोविन्दशरण महाराज तथा पुज्या दिदी मिरा देविले प्रवचन दिइरहेकी छन् । अहिले सम्म शान्ति कलश यात्रा, बोल तथा नगद चन्दा गरि महोत्सवका लागि ५१ लाख रुपैयाँ संकलन भएको जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव मूल समारोह समितिका संयोजक शेरबहादुर कुवँरले जानकारी दिए ।

महोत्सव अवधिभर कुल एक करोड रकम संकलन गर्ने र ३० लाख खर्च हुने आयोजकको अनुमान रहको छ । महोत्सवमा प्रत्येक दिन विहान ५ बजे विज्ञान शिविर, ६ बजे शालिग्राम परिक्रमा, ७ बजे पुजा, तथा ९ बजेदेखि भागवत पाठ गरिने आयोजकले जनाएको छ । त्यसैगरि ११ बजेदेखि दिउँसो ४ बजेसम्म कथा प्रवचन, झाँकी प्रवचन र चन्दादातालाई सम्मान, सांझ ७ बजे भजन कृतन तथा कथा प्रवचन हुने छ । महोत्सव फल्गुन २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

यसअघि मन्त्री थापाले सोहि स्थान नजिकै साढे दुई करोडको लागतमा बन्न लागेको हस्तिचौरको स्वास्थचौकी भवन शिलान्यास गरेका थिए ।