काठमाडौं, २४ माघ । अनलाइन पत्रकार संघले समाचारको विषयलाई लिएर नेपाल प्रहरीको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले केही अनलाइन न्युज पोर्टल अवरुद्द गराएकोमा आपत्ति जनाएको छ ।
संघका अध्यक्ष प्रवेश सुवेदीले सोमबार अपराह्न एक विज्ञप्तिमार्फत यो कदमको भर्त्सना गर्दै सञ्चार माध्यममाथिको अवरोध तत्काल खुल्ला गर्न सरकारसँग माग गरेका छन् ।
‘संविधानले ग्यारेन्टी गरेको निर्बाध सञ्चार माध्यम सञ्चालन गर्ने अधिकार र प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता विरुद्धको यो कदमको संघ भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ– ‘समाचारको विषयमा प्रचलित प्रेस कानुन र नियमनको बाटो अवलम्बन गर्न सरोकारवालासँग आग्रह गर्दै सञ्चार माध्यममाथिको अवरोध तत्काल खुल्ला गर ।’
अनलाइन पत्रकार संघका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा न्युजसेवा डटकम, आर्थिक न्युज डटकम, दियो पोष्ट डटकम लगायतका केही वेबसाइट इन्टरनेट सेवा प्रदायकहरूले अवरुद्ध गरेका छन् ।
पत्रकार महासंघको पनि आपत्ति
यस्तै समाचारकै विषयलाई लिएर केही दिनयता अनलाइन सञ्चारमाध्यम ब्लक गरिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
स्वतन्त्र प्रेस तथा पत्रकारितामाथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप भएको भन्दै महासंघले दोषिमाथि कडा कारबाहीको माग गर्दै बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहजरुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गरेको छ ।












प्रतिक्रिया