१९ कार्तिक २०८३, बिहिबार

देशका उत्कृष्ट नगरपालिकाको अवलोकनमा झलारी–पीपलाडी नगरको टोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २४ माघ । कञ्चनपुरको झलारी–पीपलाडी नगरपालिका देशका उत्कृष्ट नगरपालिका तथा उपमहा नगरपालिकाको अवलोकनमा निस्किएको छ ।

घोषणा भएको दुई वर्षपछि प्रमुख कार्यकारी अधिकृत रघुनाथ अवस्थीको नेतृत्वमा नगरपालिकाका पदाधिकारी माघ १८ देखि एक हप्ताका लागि उत्कृष्ट नगर तथा उपमहा नगरपालिकाको अवलोकन भ्रमणमा निस्किएका हुन् ।

भ्रमणमा नगरपालिकाका पदाधिकारी, राजनीतिक दल, सञ्चारकर्मी, सामाजिक अगुवा लगायत सर्वपक्षीय सहभागिता छ ।

झलारी–पीपलाडी नगरपालिकाको सर्वपक्षीय टोलीले दाङको घोराही, मकवानपुरको हेटौडा, सुनसरीको इटहरी र धरान उपमहानगरपालिकाको अवलोकन गरेको नगरपालिकाका कार्यकारी अधिकृत अवस्थीले बताए ।

‘कार्यसम्पादनमा अब्बल उपमहानगरपालिकाको अवलोकन गरेका छौं,’ उनले भने– ‘यसमा हामीले दुई वटा कुरा पायौं । पहिलो हामीले गरिरहेको अभ्यास मिल्दो जुल्दो छ । जस्तै कर्मचारी व्यवस्थापनदेखि लिएर भौतिक संरचना निर्माण, जग्गा व्यवस्थापन रहेको छ । दोस्रो भनेको जनसहभागिता हो । यसमा हामीले ध्यान दिनुपर्नेछ । त्यसैगरी उहाँहरुले फोहोर मैला व्यवस्थापनमा नचुक्नुस् भन्ने सुझाव पनि दिनुभएको छ । हामीले यहाँ देखेका कुरा आफ्नो ठाउँमा लागु गर्छाै ।’

नगरपालिकाका कार्यकारी अधिकृत अवस्थीले भ्रमण सफल रहेको बताउँदै अवलोकनबाट महत्वपूर्ण सिकाई भएको बताए । ‘थोरै जनशक्ति र भौतिक पूर्वाधार नभएको अवस्थामा नगरपालिकालाई कसरी अगाडि बढाउने, व्यवस्थापन कसरी गर्ने, जनअपेक्षालाई कसरी सम्बोधन गर्ने बारेमा धेरै ज्ञान प्राप्त भयो,’ उनले भने– ‘अवलोकन भ्रमणमा हामी धेरै अगाडि आउनुपर्थ्यो, दुई वर्ष खेर गयो जस्तो लागिरहेको छ ।’

भ्रमण टोलीले नगरपालिकाको समग्र विकासका लागि राजधानीस्थित विभिन्न मन्त्रालयमा माग पत्रसमेत बुझाएको छ ।