१३ कार्तिक २०८३, शुक्रबार

कानुन तथा न्यायका क्षेत्रमा बंश परम्परा कायमै ! को कसरी न्यायाधीश बने ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेपालको न्यायपालिका राणाकालीन र पञ्चायतकालीन दासाताको चंगुलबाट बाहिर आउन नसकेको तथ्य बेला बेलामा हुने व्यवहारबाट सिद्ध हुँदै आएको छ । चाकरी, चाप्लुसी, नातावाद र कृपावादबाट ग्रस्त न्यायलयका कारण अहिले पनि न्यायमा निष्पक्षता र पारदर्शिता कायम हुन नसकिरहेको तितो यथार्थता कायमै छ । त्यसैकारण पनि वरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद भण्डारी र विश्वकान्त मैनालीले न्यायलयमा भ्रष्टाचार छ भन्दा कार्वाही समेत भोगेका हुन् । पञ्चायतकालमा राजा महाराजाबाट हुकुम प्रमांगी गराएर जागिर खाने जस्तै अवस्था अहिले पनि न्यायलयमा कायमै छ । न्यायलयका कर्मचारीहरु न्यायाधीश बन्न कोशी र कर्णालीका माछा शक्ति केन्द्रमा पु¥याएर चाकरी र चाप्लुसी गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान रहेको र योग्य र इमान्दारको खडेरी परिरहेको छ । प्रधानन्यायधीश सुशीला कार्कीले कतिपय वंश परम्परा तोडेपनि दलहरुका कारण अझै उस्तै रहेको बताईन्छ ।

को कसरी न्यायाधीश बने ?

पहिलो नम्बरका बरिष्ठ अधिवक्ता देवनाथ वर्माका छोरा कृष्ण कुमार वर्मा सर्वोच्च अदालतमा बहाल रहेकै समयमा ड्रग काण्डका अभियुक्तलाई पैसा खाएर उनकै पक्षमा मुद्दा फैसला गरेको भन्दै कार्वाही गरिए । उनी बाबुकै कारण सर्वोच्च अदालतमा न्यायधीश हुने अवसर पाएका थिए । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हेरम्ब राज गुरुघराना (पाण्डे)का छोरा बोधरीराज पाण्डे पनि पुनरावेदन अदालतका मूख्य न्यायाधीशबाट सेवा निवृत भए । उनी पनि पटक पटक कार्वाहीमा परे तर निलम्बन हुँदै जागिरे बाल बाल बच्यो । कर कानुनमा ज्ञाता भनिएका वरिष्ठ अधिवक्ता सुशील कुमार सिन्हाका छोरा अनिल कुमार सिन्हा कांग्रेसको कोटामा कल्याण कुमार श्रेष्ठ न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश रहँदा गरिएको नियुक्तिमा बाजी मारे । उनी देवनाथ बर्माका छोरी तर्फका नाति पनि हुन् । सर्वोच्चका बहालवला न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठका बाबु रामगोपाल श्रेष्ठ पनि वकिल नै थिए ।

कानुनमन्त्री तथा न्याय परिषद्का सदस्य रहँदा तारिणी दत्त चटौतले आफ्नै नातेदार थानेश्वर भट्टलाई पुनरावेदनको न्यायाधीश बनाए । तर चटौतकी श्रीमती सरस्वती चटौतले भट्टकी श्रीमतीलाई मेरा श्रीमान्ले गर्दा न्यायाधीश बनेको भनेपछि बरिष्ठ अधिवक्ता समेत रहिसकेका भट्टलाई असैह्य भयो र उनले डेढ महिनामै राजीनामा दिएका थिए । यसरी न्यायपालिकामा योग्य र इमान्दार मानिसले कुनै हालतमा पनि प्रवेश नै नपाउने अवस्था रहेको छ ।

बहालवला सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर श्रेष्ठका बाबु र ठूलो बाबु डोटीका चारपासे न्यायाधीश थिए । त्यसै गरि सर्वोच्च अदालतका पूर्व न्यायधीश शारादा प्रसाद पण्डितका बाबु अम्बिका प्रसाद पण्डित पनि जिल्ला न्यायाधीश भएर सेवा निवृत भएका हुन् । २०४७ सालको संविधानको मस्यौदाकार विश्वनाथ उपाध्यायका बाबु भगिरथ उपाध्याय झापा मालमा सुव्वा थिए । विश्वनाथले वरिष्ठ र योग्य हुँदा हुँदै पनि कृष्णजंग रायमाझीको रोलक्रम मिचेर भाई केदारनाथलाई प्रधानन्यायाधीशको रोलक्रममा राखिदिए । त्यसै गरि अर्का भाई बैजनाथ उपाध्यायलाई पनि वकिलबाट सिधै पुनरावेदन अदालतको न्यायाधीश बनाइदिए । वैजनाथ हालै सेवा निवृत भएका छन् । पेशामा भने बैजनाथ इमान्दार न्यायधीशका रुपमा पर्दछन् ।

सर्वोच्च अदालतका निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बाबु कुल बहादुर श्रेष्ठ जिल्ला न्यायाधीश थिए । उनलाई पञ्चायतकालमै अवकास समय भन्दा ६ महिना अगाडि नै आवश्यकता नपरेको भन्दै अवकास दिइएको थियो । अर्थात घुस खाएर अकुत सम्पत्ति कमाएको भन्दै राजदरबारकै निर्देशनमा कार्वाही गरिएको होे । संयोगवस पछि कल्याणकै जेठान नगेन्द्र श्रेष्ठ राजदरबारका न्याय हेर्ने क्षेत्रका प्रमुख बने । नगेन्द्रकी अर्को बहिनी निर्मलालाई सेवा निवृत प्रधानन्यायधीश राम प्रसाद श्रेष्ठले डेरा लिएर बसेका बेला भगाएर विवाह गरी लगेका थिए । त्यसैकारण नगेन्द्रकै सोर्सफोर्सले प्रशासनका रामप्रसाद श्रेष्ठलाई कानुन सेवामा जाने मौका सहजै मिल्यो ।

दरवारमा जागिरे बनेर चाकरीमा उच्च स्थान प्राप्त नगेन्द्र श्रेष्ठले धेरै पटक कल्याणलाई टुप्पीमै समातेर तान्ने गरेको एक जना समकक्षीले बताए । दरबारका कानुन तथा न्याय हेर्ने प्रमुख व्यक्तिका बहिनी ज्वाई भएकै कारण कल्याणले धेरै जनाको रोलक्रम मिच्न भ्याए भने राम प्रसादलाई पनि सधै राम्रै ठाउँमा बसेर कमाउँधन्दा गर्ने अवसर मिल्यो । तर राम प्रसादले निर्मलाको निधन भएपछि पिके क्याम्पसमा प्राध्यापन गर्ने डा. नुरा श्रेष्ठलाई दोस्रो विवाह गरे । निर्मलाको निधन भएको छ महिना नहुँदै दोस्री श्रीमतीका रुपमा अनामनगरको घरमा भित्राउन खोज्दा रातको १२ बजे कान्छा छोरा राजिवले नाङ्गो खुकुरी नचाएर बाबुलाई लखेटे । त्यसपछि उनी अधिवक्ता कमल नारायण दासको घरमा १५ दिन जत्ति श्रीमती नुरा सहित शरण लिएर बसेका थिए । त्यसैको गुन तिर्न रामप्रसादले कमलनारायणलाई आफु न्यायपरिषद्को अध्यक्ष तथा प्रधानन्यायाधीश हुँदा सर्वोच्च अदालतको न्यायधीश बनाइदिए । स्मरणीय कुरा के छ भने कमल नारायण दासकी श्रीमती पनि नेवार नै भएका कारण रामप्रसादको नाता सम्बन्ध थियो । तथापि रामप्रसादले जागिरको उत्तराद्धमा खुम बहादुर खड्का, जय प्रकाश प्रसाद गुप्ता जस्ता भ्रष्टाचारीहरुलाई जेलमा पठाएर धेरैको मन जिते ।

कल्याण न्यायपरिषदका अध्यक्ष तथा प्रधानन्यायाधीस हुँदा पुरुषोत्तम भण्डारी, तेज बहादुर के.सी. जस्ता पुनरावेदन अदालतका योग्य, सक्षम र बरिष्ठ न्यायाधीश हुँदा हुँदै पनि सर्वोच्च अदालतमा न्यायाधीस बन्नबाट रोकियो । उनीहरु दुबै जनालाई भरखरै मात्र सर्वोच्च अदालतमा सिफारिस गरिएको छ । त्यसै गरी वकिलबाट न्यायाधीश बनाउन लागिएका तुलसी भट्ट पनि उनकै प्रतिशोधमा परे । सर्वोच्च अदालतका प्रधानन्यायधीश अवकास पश्चात मानवअधिकार आयोगको अध्यक्ष बाहेक अन्य क्षेत्रमा काम गर्न संविधानले बन्देज लगाएको छ । तर पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ भने विभिन्न खाले एनजीओ र आइएनजीओको कन्सल्टेन्ट भएर काम गरिरहेका छन् । उनलाई विभिन्न देशको खुफिया संस्थासँग सम्बन्ध भएको पनि आरोप लाग्ने गरेको छ । कल्याण न्यायाधीश हुँदा प्रायजसो एनजीओ र आइएनजीआको कार्यक्रममै ब्यास्त हुने गर्दर्थे । उनले एमाले पार्टीबाट सभासद बनेकी सपना मल्ल प्रधानलाई सर्वेच्च अदालतको न्यायाधीश बनाएर न्यायपालिकामा राजनीतिकरणको प्रत्यक्ष प्रभावको पुनरावृति गराएका हुन् ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश दामोदर शर्माले आफ्ना भतिजा मनोज शर्मालाई पुनरावेदन अदालतको न्यायधीश बनाए । तथापी उनी २८ जना अस्थायी न्यायाधीशको खारेजीमा परे । हालै उच्च अदालतको न्यायाधीशमा नियुक्त सुवास पौडेल सर्वोच्चका न्यायाधीश जगदिश पौडेलका छोरा हुन् । उनको भाग्य पनि बाबुकै कारण फुरेको सामान्य मानिसलाई पनि जानकारी नै छ । त्यसो त कतिपय मुद्दामा साथ दिए बापत कल्याणले न्यायाधीश पौडेलका छोरालाई न्यायधीश बनाएर उपहार दिने धेरैको अनुमान सहि नै भयो । कल्याणले प्रधानन्यायाधीश तथा न्यायपरिषद्की अध्यक्ष सुशीला कार्कीलाई विशेष अनुरोध पछि सुवासको उच्च अदालतमा न्यायाधीश बन्न पाएको कुरा अधिवक्ताहरु बारमा खासखुस गर्ने गर्दछन् । उच्च अदालतका न्यायाधीश स्वीकृति पराजुलीका बाबु गोविन्द पराजुली पनि पुनरावेदन अदालतको मूख्य न्यायाधीश थिए । तर स्वीकृति भने लोकसेवा पास गरेर अधिकृत तहबाटै न्यायाधीश बनेका हुन् । उनलाई घुस नखाएको भन्दै मुद्दा जिताउन ठेक्का लिने अधिवक्ताहरुले सत्तोसराप गरेको कुरा जिल्ला अदालत अघि सुन्न पाइन्छ । २०४७ सालको संविधान सुझाव सुधार आयोगका सदस्य वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीलाई आफ्ना छोराले कानुन पढेपनि प्राक्टिस नगरेको भन्दै जीवनको अन्तिम अवस्थामा डिप्रेसन नै भयो ।

निवर्तमान सभामुख सुवास नेम्बाङका बाबु राम बहादुर नेम्वाङ पनि डिट्ठा न्यायाधीश तथा वकिल थिए । त्यसै कारण नेम्बाङ पनि कानुन नै पढे । साथै नेपाल ल क्याम्पसमा राजनीतिका अतिरिक्त प्राध्यापन पनि गरे ।

पूर्व प्रधानन्यााधीश तथा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीका ससुरा बाबुले पूर्व प्रधानन्यायधीश घनेन्द्र बहादुर सिंहको बर्दियाको जग्गा जमिन हेरचाह गर्दर्थे । त्यसैकारण पञ्चायतकालमा उनको दरबारसँग नजिकको सम्बन्ध बन्यो । न्यायाधीश हुँदा कहिल्यै पनि रेग्मीलाई बढुवा हुन र कमाईहुने ठाउँमा सरुवा हुन अन्य कसैलाई भनसुन नै गर्नुपरेन । किनकी धनेन्द्र बहादुर सिंह सधै शक्तिकेन्द्रमै थिए । फलस्वरुप नेपालको इतिहासमा न्यायपालिका र कार्यकालिकाको प्रमुख बन्ने अवसर रेग्मीलाई मिल्यो । जसका कारण न्यायपालिका र कार्यपालिकाको शक्तिपृथकीकरणको सिद्धान्त पनि धरापमै परेको थियो ।

कानुनमन्त्री तथा न्याय परिषद्का सदस्य रहँदा तारिणी दत्त चटौतले आफ्नै नातेदार थानेश्वर भट्टलाई पुनरावेदनको न्यायाधीश बनाए । तर चटौतकी श्रीमती सरास्वती चटौतले भट्टकी श्रीमतीलाई मेरा श्रीमान्ले गर्दा न्यायाधीश बनेको भनेपछि बरिष्ठ अधिवक्ता समेत रहिसकेका भट्टलाई असैह्य भयो र उनले डेढ महिनामै राजीनामा दिएका थिए ।

यसरी न्यायपालिकामा योग्य र इमान्दार मानिसले कुनै हालतमा पनि प्रवेश नै नपाउने अवस्था रहेको छ । सर्वोच्च अदालतमा स्थायी न्यायाधीश बन्नबाट रोकिएर नातावाद र कृपावादको मारमा परेका प्रकाश वस्ती, पवन कुमार ओझा, भरत बहादुर कार्कीहरु थिए भने सर्वोच्च अदालतमा आउनै नदिएर बलपूर्वक अवकासमा पठाइएको योग्य र इमान्दार पुनरावेदन अदालतका मूख्य न्यायधीशहरु केशरीराज पण्डित, गौरी बहादुर कार्की जागेश्वर सुवेदी, दुर्गाप्रसाद उप्रती, दीपेन्द्र उपाध्याय, अलिअकबर मिकरानी लगायत थिए । उनीहरुलाई अनाहकमा पुनरावेदन अदालतकै न्यायाधीशबाट घर पठाइए । फलस्वरुप न्यायीक क्षेत्रमा सक्षम र योग्य मानिसको खडेरी बन्यो ।

फर्म पार्टनर को को न्यायाधीश बने

अग्नि खरेल कानुनमन्त्री तथा न्यायपरिषद् सदस्य हुँदा आफ्नै फर्म पार्टनर हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतमा न्यायाधीश बनाइए । न्यायपरिषद्का सदस्य पदम प्रसाद वैदिकले पनि फर्म पार्टनर मदन पोखरेललाई उच्च अदालतको न्यायाधीश बनाएका छन् । संवैधानीक परिषद्का सदस्य तथा सभामुख हुँदा सुवास नेम्बाङले पनि आफ्ना ल फर्म पार्टनर भरतराज उप्रेतीलाई सर्वोच्च अदालतको न्यायाधीश बनाएका थिए । माओवादी केन्द्र निकट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठका फर्ममा काम गर्ने राज्यलक्ष्मी बज्राचार्य पनि न्यायाधीश बन्न पाएकी छन् । माओवादी जनयुद्धमा आत्म समर्पण गरेका पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानको फर्म पार्टनर श्यामजी प्रधान पनि न्यायाधीश बन्न पाउने भाग्यमानी व्यक्ति मानिन्छन् ।

उच्च अदालतका ८० जना न्यायधीशका आफन्तको फेरहस्ति यस्तो छ

कांग्रेसका नेता तथा मन्त्री रमेश लेखकले आफ्नै फुपुका छोरा सुदर्शन देव भट्टलाई न्यायाधीशमा सिफारिस गरे । त्यसैगरी शेर बहादुर देउवाले पनि आफनै स्वकीय सचिव भएर काम गरेका मुनेन्द्र प्रसाद अवस्थीलाई उच्च अदालतमा न्यायधीश बनाएर पठाए । न्यायपरिषद्का सचिव कृष्ण गिरीले आफ्ना साला ध्रुर्व राज नन्दलाई नेपाली कांग्रेसबाट सिफारिस गर्न लगाए । रामचन्द्र पौडेलले भतिजा भन्दै पौडेल थर मिलेकाले स्याङ्जा घर भई बसाईसराई तनहुमा गराएका मुद्दा ठेक्कामा लिने हरिप्रसाद पौडेललाई थैली बुझेरै सिफारिस गरेको चर्चा सर्वत्र छ । वकालतै काम नगरी अर्घाखाँची कांग्रेसको जिल्ला कार्यसमितिमा सचिव भएर काम गरिरहेका बासुदेव आचार्य पनि न्यायाधीश बन्ने भाग्यमानी व्यक्ति मध्ये पर्दछन् । उच्च अदालतमा न्यायाधीश बनेका झापाका जनक पाण्डे कांग्रेस नेता कृष्ण सिटौलाको वारेस भएर काम गर्ने व्यक्ति हुन् ।

गृहमन्त्री विमलेन्द्र निधीले भतिजा राकेश कुमार निधीलाई पनि उच्च अदालतको न्यायाधीश बनाएर नातावाद र कृपावादबाट मात्र पदमा पुग्न सकिने कुराको पुष्टि गराएका छन् । सर्वोच्च अदालतमा बहालै रहँदा हत्या गरिएका न्यायाधीश रण बहादुर बमका छोरा दिपेन्द्र बम पनि उच्च अदालतमा न्यायाधीश बन्ने अवसर पाएका छन् । हुम्लाका नरबहादुर शाही हाल पर्यटनमन्त्री भई आङछिरिङ शेर्पाको निर्देशनअनुरूप काम गर्ने जीवनबहादुर शाहीका भाइ हुन् । उनी बलात्कार काण्डका आरोपीलाई पैसा खाएर उनकै पक्षमा फैसला गरेको आरोप लागेका व्यक्ति हुन् । सेलर्ड नामक गैरसरकारी संस्थाको जागिरे तथा एमाले पार्टीको कानुन विभागको सदस्य रहेकी यमुना भट्टराई पुनरावेदन अदालतको न्यायाधीश नियुक्त हुनेबित्तिकै औपचारिक शपथग्रहणपश्चात् एमाले कार्यालय बल्खु पुगेर तात्कालिक पार्टी अध्यक्ष झलनाथ खनालको मार्ग निर्देशन लिने टोलीको ‘नेता’ हुन् । कांग्रेसका नेताहरुको सिफारिसमा उच्च अदालतको न्यायाधीश बनेका धनगढीका खुशी प्रसाद थारु यूएनका जागिरे हुन् । उनलाई पनि कोर्ट प्राक्टिसमा एकदमै कम ज्ञान रहेको अधिवक्ताहरु बताउछन् ।

न्यायाधीश नियुक्तिबारे हालै नियुक्त न्यायाधीश अग्नि थपलिया यसो भन्छन्

आफैले प्रकाशित विज्ञापन रद्ध गरी खिलराज रेग्मीले किनारा लगाए, दामोदर शर्मा उर्फ कथित वावा र रामकुमार साहले खाल्डोमा हाले, आशा गरेका कल्याण श्रेष्टले त्यही खाल्डोमा पुरपार गरे । शुशिला श्रीमान् नेतृत्वको न्यायपरिषदले १३ महिना पछि खाल्डोबाट मुश्किलले उद्दार ग¥यो । न्यायलयमा अन्यायकारीको नेतृ्त्व हुदाको हविगत हो यो । १३ महिनासम्म शाररीक, मानसिक, सामाजिक, आर्थिक, भौतिक क्षतिको मूल्याङकन कसले गर्ने ? ४ जना प्रमुखले नै अन्याय गर्नु पर्ने कारण निहित व्यक्तिगत स्वार्थ वाहेक केही थिएन । ३० वर्षे सेवाकालमा (२४ वर्ष अधिकृत ६ वर्ष न्याय निरोपण) सचेत सजाय समेत नभएको जनशक्तिको लागि पिडाको मापन कसले गर्ने ? वर्तमान न्याय परिषदले आंशिक न्याय प्रदान गरेको छ, पूर्ण न्यायको …………….तैपनि वधाइ दिनेहरु १५ दिन वित्दा पनि छोडदैनन्, निरन्तर दिइरहेका छन् । यो क्रम कहिले सम्म रहने हो म आफै सोचिरहेको छु।वलेको आगो ताप्ने संसारको रित भएकोले होला पिडामा समवेदना दिनेको संख्याको तुलना अहिले वधाई दिनेको सँख्यासंग तुलनै नहुने रहेछ । यद्यपी यसपालि मैले कसैको वधाइ स्विकारेको छैन, कसैलाइ वधाइ दिएको पनि छैन । जे भएपनि वर्तमान न्यायपरिषदले खटाएको स्थानमा हाजिर भइ दैनिकी सम्हाल्न थालेको छु । जति दिन सेवामा रहे पनि मनासा, वाचा, कर्मणा न्यायिक मूल्य मान्यता र कानूनको परिधिभित्र रही न्यायसम्पादन गर्ने कुरामा कुनै कसैसँग संझौता नहुने प्रतिवद्धता सहित पुनः सेवामा फर्किएको छु ।

डायरी एक्सप्रेस साप्ताहिकबाट ।