१९ कार्तिक २०८३, बिहिबार

ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति उपाध्याय नियम विपरित चलेको आरोप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सहितका केही व्यक्तिहरुले प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय नियम विपरित चलेको आरोप लगाएका छन् ।

आज विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले कुलपति उपाध्याय आफ्नै संस्था विरुद्ध उत्रेको आरोप लगाएका छन् ।

प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार, सदस्य–सचिव नवराज भट्ट, प्राज्ञपरिषद् सदस्य एवं प्राज्ञसभा सदस्यहरुले प्रतिष्ठानको सातौं प्राज्ञसभाको बैठक विभिन्न निर्णय गर्दै पुस महिनामै सकिएपनि कुलपति उपाध्यायले माघमा सल्लाहबिना नियम विपरित बैठक बोलाएको आरोप लगाएका छन् ।

सो बैठकमार्फत उनले पहिले गरेका निर्णयहरु उल्ट्याएको आरोप पनि लागेको छ । विशेष बैठक बाहेक छ महिनामा एक पटक मात्रै बैठक गर्ने नियम भएपनि मन लागेको समयमा बैठक गरेर उपकुलपतिले गैरकानुनी काम गरेको उनीहरुको आरोप छ ।

कुनै सल्लाहबीना प्राज्ञसभाको बैठक बोलाएर छुट्टै माइन्यूट खडा गरी कुलपतिले आफुखुसी निर्णय गराई निरंकुशता लाद्न खोजेकाले सो निर्णय कुनैपनि हालतमा मान्य नहुने विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले विगत लामो समयदेखि प्रतिष्ठानको ऐन नियम तथा हितविपरित विभिन्न कार्यहरु गर्दै आइरहेको पनि उल्लेख छ ।

कुलपतिले आफ्नै निर्देशनमा अख्तियारमा प्रतिष्ठानका महत्वपूर्ण फाइलहरु पठाएको आरोप पनि लगाइएको छ ।

कुलपति रागिनी उपाध्यायले प्रतिष्ठानमा पदाधिकारीहरु तथा कर्मचारीहरुबीच फुट गराई गुट उपगुट बनाएको, प्रतिष्ठानभन्दा बाहिर गई नियमित रुपमा गोप्य बैठक बसी प्रतिष्ठानविरोधी गतिविधिहरु गरेको उनीहरुको भनाई छ ।