३१ आश्विन २०८३, शनिबार

तामाङ सोसाइटीले न्युयोर्कमा सांस्कृतिक केन्द्र भवन निर्माण गर्ने, दातालाई सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा सांस्कृतिक केन्द्र भवन निर्माण गर्ने भएको छ ।

सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरका अनुसार न्युयोर्क आसपासमा रहेका तामाङ समुदायहरुले आफ्नो संस्कृति जोगाउन एकजुट भएर तामाङ साँस्कृतिक तथा बौद्ध केन्द्रको भवन निर्माण गर्न लागेका हुन् ।

भवन निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान समेत सञ्चालन गरिएको छ । थुप्रै व्यक्तित्वहरुले यो अभियानमा सहयोग गरेका छन् । यो अभियानमा अहिलेसम्म एक लाख पचास हजार अमेरिकी डलर संकलन भइसकेको छ । छिट्टै न्युयोर्कमा सांस्कृतिक केन्द्र भवन निर्माण सुरु गरिने अध्यक्ष थोकरको भनाई छ ।

सहयोग गर्ने दाता सम्मानित

यसैबीच तामाङ सोसाइटीले ल्होछारका अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । र, भवन निर्माणका सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।

सम्मान पाउनेमा अमर तामाङ, बंशलाल र सुनिता तामाङ, छेमाङ लामा र रेजिना योञ्जन लामा, फुर्वा तामाङ र शशिकला लामा तामाङ, लुइसाङ वाइवा र बेलु तामाङ रहेका छन् । यस्तै, नाम्गेल लामा र माइली तामाङ, रोजबहादुर लामा र सानु कुमारी लामा, शम्भु तामाङ मोक्तान र नन्दु तामाङ, शुभाष लामा र राखी लामा, शान्त बाबु थोकर र शुशिला तामाङ, तथा इन्द्र तामाङ र राधिका तामाङ रहेका छन् ।

भब्य रुपमा मनाइयो ल्होछार

यसैबीच अमेरिकाको न्युयोर्कमा बस्दै आएका तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार भब्य रुपमा मनाएका छन् । ल्होछारकै अवसरमा तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अमेरिकामा जन्मिएका बालबालिकाको तामाङ सेलोसहित नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।

सांस्कृति कार्यक्रम अघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति गैर आवसीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशव पौडेल लगायत विभिन्न व्यक्तिहरूले शुभकामना व्यक्त गरेका थिए ।

तीन जनालाई मानार्थ सदस्यता प्रदान

शुभकामना आदानप्रदान कार्यक्रममा तीन जनालाई मानार्थ सदस्यता प्रदान गरिएको छ । सोसाइटीको मानर्थ सदस्य पाउनेहरुमा ओरिगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका तेक्वान्दो खेलाडी विधान लामा, प्रोफेसरहरू डेभिड होम्बोक र क्याथरन मार्क रहेका छन् ।

तेक्वान्दो खेलाडी विधान लामा ओलम्पिकको प्रर्दशनी खेलमा कास्य पदक जित्ने नेपालको एक मात्र खेलाडी हुन् । यस्तै प्रोफेसरद्धय डेभिट र क्याथलिकले तामाङ भाषा र सस्कृतिमा विद्यावारिधी गरेका छन् ।

यस्तै हिमाल आरोही कर्ण बञ्जन तामाङलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो । यस्तै तीन पटकसम्म सगरमाथाको सफल आरोहण गर्ने क्रममा कर्णले परम्परागत तामाङ टोपी शिखरमा पुर्याएका थिए । यस्तै नेपाल डे परेड कार्यक्रम सफल आयोजना गरेको भन्दै जनजाति महासंघ अमेरिकालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

सन् २००२ मा स्थापना भएको सोसाइटीले ल्होछारको उपलक्ष्यमा रहेक वर्ष सांस्कृतिक कार्यक्रम राख्दै आएको छ । अघिल्ला बर्षहरु भन्दा यस पटकको कार्यक्रममा सहभागीहरुको संख्या उत्साहपूर्ण रहेको सोसाइटीले बताएको छ ।