
काठमाडौं, १६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी र कर्मचारीकै मिलेमतोमा मानव तस्करी हुने गरेको खुलासा भएको छ ।
अहिलेको चर्चित ३५ किलो सुन तस्करी प्रकरण सेलाउन नपाउँदै एयरपोर्टबाट हुने अर्काे तस्करीको पोल भिजिट भिषामा दुबई जान विमान चढ्न लागेकी एक युवती पक्राउ परेपछि खुलेको हो ।
विमान चढ्नै लाग्दा पक्राउ पर्ने युवती हुन् मिनामाया तामाङ । उनी गत बुधबार पक्राउ परेकी हुन् । तामाङलाई प्रहरीकै मिलेमतोमा भिजिट भिषामा बैदेशिक रोजगारीका लागि दुबई पठाउने तयारी गरिएको थियो ।
बैदेशिक रोजगारीका लागि उनलाई दुबई जान लागि उनी भिजिट भिषामा सबै चेकजाँच पुरा गरी विमान चढ्न स्टेलाइजर एरियामा पुगेकी थिइन् । महानगरीय अपराध महाशाखाको प्रहरीले शंका लागी उनलाई समातेर अनुसन्धान गर्दा नक्कली कागजपत्रको आधारमा प्रहरीकै मिलेमतोमा उनलाई दुबई पठाउन लागिएको तथ्य भेटियो ।
नक्कली कागजपत्र बनाएर दुबई पठाउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने उनलाई सहयोग गर्ने एयरपोर्टका प्रहरी भने फरार छन् ।
अपराध महाशाखाले शुक्रबार गौशलास्थित एक्सिस करिअर सोलुसनका संचालक कपनका सुदर्शन खड्का, जोरपाटीस्थित ओख्तुहाङ ट्राभल एण्ड टुर्सका संचालक सुनसरीका जीवन जिमी राई र उक्त ट्राभल्सका कर्मचारी कृष्ण वाग्लेलाई पक्राउ गरेको हो ।
विमानस्थलमा कार्यरत प्रहरी जवान तोयानाथ विकसँग मिलेर उनीहरुले युवतीलाई दुबई पठाउदै आएको खुलेको छ । विक अहिले फरार छन् । घटनाबारे छानविन भइरहेको अपराध महाशाखाले जनाएको छ ।
यसअघि विमानस्थलमा केन्द्रीय अनुसन्धान ब्यूरोको टिमले ३५ किलो सुनसहित तीन भरियालाई पक्राउ गरेको थियो भने अनुसन्धानका लागि थुप्रै भन्सार अधिकारीलाई नियन्त्रणमा लिएको छ । यो घटनामा सुन मालिक को हो भन्ने अझै टुंगो लागिसकेको छैन् ।















प्रतिक्रिया