– मोहन पौडेल
परासी, १६ माघ । आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै अनेरास्ववियु नवलपरासीले संगठनमा आवद्ध जिल्लाका अगुवा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।
सदरमुकाम परासीमा दुई दिन सम्म स्ववियु निर्वाचन, अनेरास्ववियुको भुमिका, जवजको सिद्धान्त लगायतका विषयमा रहेर विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको अनेरास्ववियु नवलपरासीले जनाएको छ ।
सो विद्यार्थी संगठनमा आवद्ध जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, क्षत्रिय, नगर तथा क्याम्पस कमिटिका पदाधिकारीहरुलाई प्रशिक्षण गराइएको जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरेले बताउनुभयो ।
कार्यक्रममा एमाले प्रशिक्षण विभागका केन्द्रीय सदस्य बद्री खनाल प्रमुख प्रशिक्षक रहनुभएको थियो भने अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष एवँ एमाले केन्द्रीय सदस्य ठाकुर गैरे, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बराल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष सुनिता बरालले स्ववियु निर्वाचनमा अनेरास्ववियु सधैँ पहिलो हुदैँ आएकोले यस पटक पनि त्यसलाई कायम राख्न अहिले देखि नै आफनो पक्षमा माहोल बनाउने अभियानमा लाग्न निर्देशन दिनुभयो ।
जिल्ला अध्यक्ष घिमिरेले जिल्लाका स्ववियु निर्वाचन हुने सात वटै क्याम्पसमा अखिलको विजयी हुने गरि चुनावमा केन्द्रीय हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका जिल्ला संयोजक राजनकुमार आर्चाय, प्रशिक्षार्थिको तर्फबाट अनेरास्ववियुका जिल्ला सदस्य प्रसान्त चापागाई, जिल्ला सदस्य एवँ पाल्ही क्याम्पस कमिटि अध्यक्ष रुपेश राजभर लगायतले बोल्नुभएको अखिलका जिल्ला सचिव ठाकुर पराजुलीले बताउनुभयो ।













प्रतिक्रिया