१९ कार्तिक २०८३, बिहिबार

‘लोकतान्त्रिक मूल्यको संरक्षण नै असल लोकतन्त्र’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

कृष्णनगर, १६ माघ । लोकतान्त्रिक मूल्यको संरक्षण गर्नु नै असल लोकतन्त्र भएको राष्ट्रिय मदरसा संघका केन्द्रीय अध्यक्ष डा. अब्दुलगनी अल्कूफीले बताएका छन् ।

भारतको ६८औं गणतन्त्रको अवसरमा सीमावर्ती क्षेत्र सिद्धार्थनगरस्थित मदरसा जामिया अलिस्लाह कठयलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मदरसा संघका अध्यक्ष डा. अल्कूफीले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका डा. अल्कूफीले भने– “लोकतन्त्र केवल नारा मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यतालाई बढावा दिने दस्तावेज हो, देशबासीलाई सुरक्षा प्रदान गर्ने कानुन हो ।” भारतमा गणतन्त्रको जग मजबुत रहेको औल्याउँदै अल्कूफीले असामाजिक तत्वले कुनै पनि हालतमा यसलाई कमजोर पार्न नसक्ने स्पष्ट पारे ।

भारतमा मुस्लिम समुदायको बाहुल्यता रहेको बताउँदै कानुनी दृष्टिले भारतीय गणतन्त्रले अल्पसंख्यक मुस्लिम समुदायलाई महत्वपूर्ण स्थान दिएको मदरसा संघका केन्द्रिय अध्यक्ष अल्कूफीले दाबी गरे । यसबाट नेपाली अल्पसंख्यक मुस्लिम समुदायका लागि प्रेरणाको स्रोत बनेको उनले बताए । राष्ट्रिय गीतले जसरी देशबासी सबैलाई एकसूत्रमा बाँध्ने काम गर्दछ, त्यसरी नै लोकतान्त्रिक गणतन्त्रले पनि सबैको हकअधिकारलाई सुनिश्चित गर्न ठूलो मद्धत गरेको उनको तर्क रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि मौलाना मशहूद खाँ ‘नेपाली’ ले नेपालका मुस्लिमहरु लोकतन्त्रको पक्षमा रहेको औल्याउँदै अल्पसंख्यकको अधिकारको सम्मान र प्रगति भारतको महान लोकतन्त्रका लागि सकारात्मक सन्देश भएको बताए । हाम्रो देश नेपालमा पनि अब भारतको जस्तै अनेकतामा एकतालाई मूलमन्त्र बनाई अगाडि बढेको उद्घोष गरे । नेपालको सकारात्मक कदमप्रति आशाबादी हुँदै दुवै देशले अल्पसंख्याकको हकअधिकार सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय मदरसा संघ नेपालको तर्फबाट भारतीय दुताबासमा गणतन्त्र दिवसको बधाई पत्र पठाएको मौलाना नेपालीले बताए । भारतीय दुताबासले नेपालको विकास तथा शिक्षा क्षेत्रमा ठूलो धनराशि खर्च गर्दै आएकोमा धन्यबादको पात्र भएको बताए । यसै सन्दर्भमा मौलाना नेपालीले लोकतान्त्रिक आवश्यकतालाई ध्यानमा राखी मुस्लिम अल्पसंख्यकलाई समेत प्राथमिकतामा राख्नुपर्ने माग गरे । मुस्लिम समुदायका बालबालिकालाई सुविधा हुने गरी साइन्स, मेडिकल, इन्जिनियरिङ्ग, कम्प्यूटर विज्ञानका साथ अन्य समकालिन क्षेत्रमा शैक्षिक लगानी गर्न अनुरोध गरे । मुस्लिम बालबालिकालाई अवसर प्रदान गर्न समेत उनले माग गरे । अवसर पाए मुस्लिम समुदायबाट पनि दक्ष जनशक्ति तयार भई देशविकासमा ठूलो मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे ।