– आकाश देबकोटा
बाँके, १५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन प्राथमिकताको विषय नभएको बताएका छन् ।
आज नेपालगन्जमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री देउवाले भने– ‘राष्ट्रिय सहमति महत्वपूर्ण कुरा हो, सरकार फेर्ने कुरा त्यति आवश्यकताको विषय होइन् ।’
वर्तमान समयको आवश्यकता भनेको संविधान कार्यान्वयन नै रहेको उनले प्रष्ट्याए । स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन गर्ने विषयमा सत्तारुढ दल माओवादी केन्द्रसँग कुनै छलफल नभएको उनले बताए ।
सबै दलको ध्यान पहिले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन र त्यसपछि प्रदेश तथा केन्द्रीय निर्वाचन गराउनतर्फ केन्द्रित हुनुपर्ने देउवाको जोड छ । संविधान कार्यान्वयन गर्नका लागि भएपनि निर्वाचन गराउन आवश्यक रहेको उनको भनाई छ । आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गरे । निर्वाचनसम्बन्धी कानुन निर्माण र निर्वाचनको मिति घोषणा अबको केही दिनभित्रै हुने सभापति देउवाले बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले लगभग पूर्णता पाइसकेको र चाँडै विभाग गठन गर्ने तयारी रहेको बताए । ‘केन्द्रीय कार्यसमिति त बनिसकेको छ नि, अब तीन/चार वटा मात्र बन्न बाँकी छ’ देउवाले भने, ‘विभाग पनि अबको चार/पाँच दिनमै गठन हुन्छ ।’
















प्रतिक्रिया