३१ आश्विन २०८३, शनिबार

एमालेलाई यसरी प्रहार गरे भारतीय राजदूतले, नेपाली जनता पक्षमै रहेको दाबी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले ‘भारत विरोधी’ भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि प्रहार गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा राजदूत रेले नेपाली जनता भारतप्रति सकारात्मक रहेपनि केही राजनीतिक दलमा नकारात्मक धारणा रहेको बताए ।

एमालेसहितका विपक्षी दलहरुप्रति संकेत गर्दै उनले भने- ‘काठमाडौंका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिएपनि नेपाली जनतामा भारतविरोधी भावना छैन ।’

नेपालमा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी

अब केही दिनभित्र नेपालको कार्यकाल सकिएर भारत फर्किन लागेका राजदूत रेले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गरे ।

उनले भने– ‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन, यो कुरा नेपालीहरुको मनमा पनि छैन, हस्तक्षेप गरेर भारतलाई के फाइदा हुन्छ ?’

भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको भन्दै उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्नेमा समेत जोड दिए ।

‘भारतले ट्रान्समिसन लाईन बनाइदियो, थप सय मेगावाट विजुली नेपाल आउँछ’

राजदूत रेले भारतले ट्रान्समिसन लाईन समेत निर्माण गरिदिएको बताए । राजदूत रेले भने, ‘ट्रान्समिसन लाईन निर्माण सम्पन्न भएसँगै अब नेपालमा लोडसेडिङ् अन्त्य गर्न मद्दत पुग्छ ।’ अब रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय ट्रान्समिसनको काम अन्तिम चरणमा पुगेको र अबको दुई हप्ताभित्रै भारतबाट थप १०० सय मेगावाट विजुली नेपाल आउने उनले जनाए । उनले पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गरिरहेको बताए ।

‘संविधानमा असन्तुष्ट पक्षलाई पनि समेटियोस्’

नेपालको संविधान संशोधन प्रक्रियालाई भारतले कसरी हेरेको छ भन्ने पत्रकारको प्रश्नमा राजदूत रे भने, ‘समस्या समाधान होस् भन्ने हाम्रो चाहना हो, तर कसरी गर्ने, के गर्ने भन्ने कुरा नेपालकै राजनीतिक दलहरुले गर्ने कुरा हो, हामी त समृद्ध नेपाल, स्थिर नेपाल भएको हेर्न चाहन्छौं ।’ आर्थिक समृद्धिको लागि सबै दलहरु एक ठाउँमा उभिए भने असंभव भन्ने कुरा केही पनि नहुने उनको भनाई थियो ।