३१ आश्विन २०८३, शनिबार

संसदमा विखण्डनकारीलाई कारबाही गर्न माग, पाँच विकास क्षेत्रलाई प्रदेश बनाउन प्रस्ताव

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद सुवोधकुमार पोखरेलले सीके राउतले विखण्डनकारी गतिविधि गरेको भन्दै हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पोखरलले सिरहामा देश टुक्र्याउने गतिविधि गरेर सीके राउतले देशद्रोही कार्य गरेको बताए । उनले राज्यविरुद्धको कार्य गर्ने अधिकार कसैलाई पनि संविधानले नदिएको बताए ।

‘राष्ट्र विखण्डन गर्ने अभियानका नाईके सीके राउतलाई कसले छुट दिइरहेको छ ?’, उनले प्रश्न गर्दै भने, ‘राज्यले किन कारबाही गर्दैन ? छिटोभन्दा छिटो सीके राउतलाई कारबाही होस् ।’

सांसद पोखरेलले संघीयता कार्यान्वयनका लागि पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश बनाउनु पर्ने बताए । उनले भने, ‘मुलुकमा संघीयता कार्यान्वयन गर्ने हो भने पाँच विकास क्षेत्रलाई प्रदेश बनाइ संघीयता कार्यान्वयन गरौँ ।’

यसअघि, संसदको सोमबारको शून्य समयमा बोल्दै हरिप्रसाद नेपालले निर्वाचनसम्बन्धी विधेयकहरू संसदमा पेश गर्न माग गरे । उनले निर्वाचन कानून आएपछि मात्रै निर्वाचन घोषणा गर्नुपर्ने बताए ।

अन्य सांसदहरूले बाँकेमा अनिसा फटिकलाई आफ्नै पतिले आगो लगाएर हत्याको प्रयास गरेको भन्दै उपचारका लागि आग्रह गरेका थिए । उनीहरूले पत्नीलाई आगो लगाउने पति राजेन्द्र फटिकलाई कडा कारबाहीको माग गरे ।