काठमाडौं, ९ माघ । विद्युत चोरी गरी लोडसेडिङ गराउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विद्युत चारीमा संलग्न विद्युत प्राधिकरणका वाहालवाला कर्मचारी सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नौं जना विद्युत प्राधिकरणका कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, पूर्व मेन्टिनेन्स टहलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान, बानेश्वर शाखाका ईलेक्ट्रिसियन अच्युत खड्का, वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपाकका बरिष्ठ सहायक दिलबहादुर साउद, सोही कार्यालयका मिटर रिडर ओम ढुंगानालाई पक्राउ गरेको छ । त्यस्तै, वितरण तथा ग्राहक सेवा निर्देशनालयका मिटर रिडर श्याम बस्नेत, प्रदिप शर्मा, ठाकुर महर्जन, मनिज श्रेष्ठ, लगनखेल शाखाका मिटर रिडर सूर्यबहादुर थापा र भक्तपुर शाखाका पूर्व सुपर भाईजर भगवान पाण्डे पनि पक्राउ पक्राउ परेका छन् ।
त्यसैगरी उद्योग कलकारखानाका संचालकहरू पनि पक्राउ परेका छन् । प्रहरीले गोकर्णेश्वरका मञ्जुश्री खानेपानी पानी फ्याक्ट्रीका सञ्चालक कुमार लामा, गौशालास्थित मिठाई पसल संचालक तपन घोस, नक्सालका कपास व्यापारी परवेज आलम र अनामनगरस्थित रामेश्वर मिठाई पसल संचालक रमेश चुँडाललाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ ।
लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताए ।
प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए । उनीहरूले १० वर्षभन्दा बढी समयदेखिे मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । सुपरभाइजर श्रेष्ठको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणसमेत बरामद गरेको छ ।
यसअघि महाशाखाले डेढ वर्षअघि राजधानीमा पेट्रोल पम्प बिगारेर ठगी गर्ने पम्प सञ्चालकहरूलाई पनि पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु :-
- विगत १२ वर्ष देखि विद्युत चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुदै आएको ।
- मिटर रिडरले मिटर रिड गरे पछि मिटरमा उल्लेखित युनिट भन्दा कम युनिटको विल वनाउने गरेको ।
- ४।५महिनासम्म कम युनिटको विल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अंक घटाउन लगाउने ।
- टेक्निसियनको कर्मचारीले मिटर बक्सलाई उनिहरुकै घरमासमेत लगेर मिलाई पुनःजडान गर्ने गरेको ।
- मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरले समेत बाँडफाड गरी लिने गरेको ।
- यस्तो कार्य बढी विद्युत खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गरिएको देखिएको ।
- निजहरुले उक्त कार्य गरे वापत विभिन्न उद्योग कलकारखानाबाट दैनिक तथा मासिक रुपमा मोटो रकम लिदै आएको ।
















प्रतिक्रिया