३१ आश्विन २०८३, शनिबार

भारतलाई चिनियाँ नेताको चेतावनी- होस गर ! नेपालको छिमेकमा चीन पनि छ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । चीनले नेपालको उत्तरी छिमेकमा चीन छ भन्ने कुराको हेक्का राख्न भारतलाई सचेत गराएको छ ।

नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहेका चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुआङ योईले पत्रकार परशुराम काफ्लेसँग कुरा गर्दै नेपाल मामिलाबारे भारतीयहरुले साँघुरो मानसिकतालाई बदल्नुपर्ने बताए ।

‘नेपालले एउटा छिमेकीसँग मात्रै सम्बन्ध राखोस् भन्ने हिसाबले कसैले हेर्न हुँदैन । मानिसमा खुला सोचको आवश्यकता छ । दुईवटा छिमेकीसँग नेपालले आफ्नो आवश्यकताअनुसार सम्बन्ध स्थापित गर्ने उसको अधिकार हो,’ उनले भने- ‘चीन र भारतले नेपालको पोजिसनलाई बुझिदिनुपर्छ । एकअर्कासँग नेपालको बलियो सम्बन्धमा कुनै छिमेकीले ईष्र्या गर्नु जरुरी छैन ।’

चिनियाँ सरकारका विज्ञ समेत रहेका योईले आर्थिक विकासमा तीनै देश (चीन–नेपाल–भारत) मिलेर जानुपर्ने भन्दै यसका लागि नेपाल तथा चीन–नेपाल सम्बन्धबारे भारतको सोच अझै खुला हुनुपर्नेमा जोड दिए ।

‘जहाँसम्म हाम्रो बुझाइ छ, नेपालले भारतसँग बलियो सम्बन्ध राख्नुपर्छ र नेपालको त्यो प्राथमिकतामा पनि छ । नेपालको उत्तरी छिमेकमा चीन छ भन्ने कुरा भारतले बुझिदिनुपर्छ,’ उनले भने– ‘भारतका जनता हार्दिक छन, उदार छन् । तर, भारतको नेतृत्व पश्चिमा विचारबाट प्रभावित भएको पनि अर्को यथार्थ हामीले बुझ्नुपर्छ । त्यसकारण उनीहरूमा साँघुरो मानसिकता छ, यसबाट उनीहरू बदलिनुपर्छ ।’