– नवराज श्रेष्ठ
रामेछाप, ४ माघ । दुई महिनाअघि रामेछापको मझुवा गाविसमा चालकसहित गाडीमा आगजनी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले २ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
प्रहरीले घटनाको आरोपी २ जनालाई मंगलबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । जिल्लाको मझुवा गाविस वडा नम्बर १ निगालपानीमा गएको मंसिर महिनाको ९ गते बिहिबार मे १ ज २१८७ नम्बरको टाटासुमो गाडीभित्र झापा लखनपुर, १ का चालक २७ बर्षीय विशाल खड्कालाई गोली हानेर हत्या गरी आगो लगाईएको अवस्थामा भेटिएको थियो ।
प्रहरीले घटनामा संलग्नताको आरोपमा तेह्रथुम पौठाकका २६ बर्षीय मनकुमार लिम्बु र रसुवा सरनथलीकी १८ बर्षीया बिन्दू तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उक्त घटनाका मुख्य योजनाकार रामेछापकै भएको रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेलले बताए ।
जुन ब्यक्ति अझै फरार रहेकाले खोजी तीव्र पारिएको डिएसपी ढुंगेलले पत्रकार सम्मेलनमा बताए । घटनाको मुख्य योजनाकार यस अघि पनि अपराधिक घटनामा संलग्न भई फरार अभियक्तको सूचिमा रहेको ढुंगेलको भनाई छ । पक्राउ परेकाहरुको बयान अनुसार मंसिर ८ गते टाटासुमो रिजर्भ गरी काठमाडौंबाट रसुवातर्फ गएका थिए । त्यहीँबाट धादिङ–हेटौंडा हुँदै बार्दिवासहुँदै मंसिर ९ गते बिहान ४ बजे सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेममा चिया खाएर रामेछापतर्फ लागेका थिए ।
रामेछापको सित्खा बजार हुँदै मझुवा– १ निगालपानीमा विहान ६ बजेतिर सुमो चालक विशाल खड्कालाई तीन राउण्ड गोली प्रहार गरी सुमोको पछाडी सिटमा राखेर आगो लगाई हत्या गरेर फरार भएका थिए ।
पक्राउ परेका लिम्बु जनमुक्ति सेनाका पूर्वअयोग्य लडाकु हुन् । अरोपीहरुको साथबाट प्रहरीले जनमुक्ति सेना लेखिएको पर्चा, ४ थान मोबाइल, ९ थान मोबाइलका सीमहरु समेत बरामद गरेको छ ।













प्रतिक्रिया