काठमाडौं, ३ माघ । देशमा बढ्दो राजनीतिक अस्थिरता र नागरिक नागरिकको बीचमा ध्रवीकरण बढिरहेका बेला नेपाली सेनाले परिस्थतीको सामना गर्न आन्तरिक तयारी थालेको छ ।
खासगरी पहाड र तराईबीच बढ्दो धुव्रीकरणमा सेना सचेत भएको छ । र, निगरानी बढाएको छ । साथै देशको राजनीति पनि दुई भागमा विभाजन भइरहेका बेला प्रधानसेनापति आफै सक्रिय भएका छन् ।
यसैक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले असहज परिस्थतीको सामना कसरी गर्ने बारेमा पूर्व प्रधानसेनापतिहरुसंग सुझाव मागेका छन् ।
संविधान संशोधन र सीमानकंनको विषयलाई लिएर दलहरुबीच ध्रवीकरण बढेका बेला प्रधानसेनापति क्षत्रीले निजी निवास शशीभवनमा आइतबार राति पूर्व सेनापतिहरुलाई बोलाएर छलफल तथा सुझाव मागेका हुन् ।

प्रधानसेनापतिको निजी निवासमा भएको छलफलमा पूर्व प्रधानसेनापतिहरु अर्जुनरसिंह राणा, प्यारजंग थापा, प्रज्वलशमशेर राणा, रुक्माङ्गत कटुवाल, छत्रमानसिंह गुरुङ र गौरवशमशेर राणाको सहभागिता थियो ।
प्रधानसेनापति क्षत्रीले सामाजिक संजाल फेसबुकमार्फत भेटघाटको पुष्टि गर्दै पूर्वसेनापतिहरुसंगको भेटघाट तथा छलफलले सबै मिलेर एउटा साझा मञ्चमार्फत देश, जनता र सेनालाई सम्बृद्धिको बाटोतर्फ डोर्याउने उत्प्रेरणा मिलेको बताएका छन् । उनले छलफलका क्रममा प्राप्त भएका अमुल्य सुझाव र अनुभवले भेटघाट निकै प्रेणादायी र ज्ञानवर्धक बनेको दावी गरेका छन् ।
‘नेपाली सेनाका पुर्व प्रधानसेनापतिहरुसंगको भेटघाट तथा छलफलले हामी सबै मिलेर एउटा साझा मञ्च मार्फत, देश, जनता र नेपाली सेनालाई सम्बृद्धीको बाटो तर्फ डोर्याउने उत्प्रेरणा मिलेको छ,’ प्रधानसेनापति क्षत्रीले भनेका छन्- ‘छलफलका क्रममा प्राप्त भएका अमूल्य सुझाव, अनुभव तथा ज्ञानगुणका कुराहरुले यो भेटघाट निकै नै प्रेरणादायी र ज्ञानबर्धक बन्यो ।’
यता पूर्वसेनापतिहरुको भेटघाटबारे नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले यो नियमित भेटघाट भएको र यसलाई फरक ढंगले बुझ्न नहुने बताए ।
















प्रतिक्रिया