– विमल योगी
काठमाडौं, २ माघ । नयाँ शक्ति नेपाल पार्टी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बबरमहलस्थित नयाँ शक्ति पार्टीका नेता डा केशवमान शाक्यको घरमा बसेको नयाँ शक्ति र मोर्चाका शीर्ष नेताहरुको बैठकले राजनीतिक सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको हो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मधेसी मोर्चाले उठाएका मागहरु र नयाँ शक्तिले उठाएका मागहरुमा एकरुपता देखिएकाले राजनीतिक सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।
सहमतिअनुसार नयाँ शक्ति र मोर्चाले अल्पकाल र दीर्घकाल गरी दुई किसिमको रणनीति बनाएर अगाडि बढ्ने योजना बनाएका छन् ।
यसबारे थप विवरण माघ ६ गते फेरि बैठक बसेर संयुक्त विज्ञप्ति जारी गरी सार्वजनिक गरिने नेता झाले बताए ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले आफ्नो राजनीतिक भविष्य नदेखेपछि पछिल्लो समय मधेसी मोर्चाको पछि लागेर आन्दोलनमा जान खोजेका छन् । जसअनुसार उनी मोर्चासँग मिल्ने प्रयास गरिरहेका छन् ।
यसअघि पनि मधेसी मोर्चाका नेताहरूसँग पटक पटक परामर्श गरिसकेका भट्टराईले आदिवासी जनजाति, मधेसी, थारुलगायतका अधिकारहरूका पक्षमा आफू रहेको बताउँदै आएका थिए ।
आजको बैठकमा नयाँ शक्तिका तर्फबाट संयोजक बाबुराम भट्टराई, नेताहरु देवेन्द्रराज पौडेल, गंगा श्रेष्ठ, करिश्मा मानन्धर लगायत सहभागी थिए । त्यसैगरी मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवसहितका नेता उपस्थित थिए ।
















प्रतिक्रिया