लन्डन । बेलायत सरकारले लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई ‘क्वीन्स् कन्सुल‘ (क्यूसी) अर्थात् ‘महारानीको मानार्थ कानुनी सल्लाहकार’ भन्ने उपाधि प्रदान गरेको छ ।
प्रा. सुवेदी सहित न्याय र कानूनको क्षेत्रमा विशिष्ट योगदान गरेका पाँचजना वरिष्ठ कानूनविद्हरुलाई त्यस्तो उपाधि प्रदान गरिएको ब्रिटेनको न्याय मन्त्रालयले जनाएको छ । उक्त पदवी आउँदो फेब्रुअरी १३ तारिखा लण्डनमा एक समारोहका बीच प्रदान गरिनेछ ।
डा. सुवेदी मानवअधिकार, न्याय र कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ता भएको उल्लेख गर्दै सुवेदीले बेलायतको परराष्ट्रमन्त्रीको मानवअधिकार कानुनको सल्लाहकारको रुपमा पांच वर्ष र क्याम्बोडियाका लागि राष्ट्रसंघीय मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा गरिएको छ ।
यसअघि बेलायती महारानीले प्रा. सुवेदीलाई सन् २००४ मा अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (ओबिइ) उपाधि प्रदान गरेकी थिइन् । बेलायतको उक्त उच्च अवार्ड पाउने सुवेदी पहिलो नेपाली हुन् ।
अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकार संबन्धी ६ वटा पुस्तकहरु लेख्नु भएका प्रा. सुवेदी ‘एसियन जर्नल अफ इन्टरन्याशनल ल’ का संपादक मण्डलका अध्यक्ष पनि हुनुहुन्छ ।















प्रतिक्रिया