काठमाडौं, १ माघ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मधेसवादी दलका नेताहरुबीच घोचपेच भएको छ ।
मधेसवादी दलका नेताहरुले घुमाउरो भाषामा ‘तपाई त मधेसविरोधी हो नी’ भन्ने आशय व्यक्त गरेपछि ओलीले पनि घुमाउरो भाषामै जवाफ दिए- ‘मधेसमा सबैभन्दा बढी बजेट र विकासका कार्यक्रम तपाईहरुले नै लग्नुभएको हो क्यारे ! अनि किन नहुनु त ?’
त्यसपछि मोर्चाका नेताहरुले बोली नै बन्द भयो । त्यसपछि अन्य विषयमा पनि अनौपचारिक कुराकानी हुँदा घोचपेच चलिरह्यो । र ओलीको ठट्यौली जवाफले मुसुमुसु हाँसिरहे ।
यो अवसर जुराइदिएकी हुन् राष्ट्रपति विद्यादेवी भण्डारीले । माघेसंक्रान्तिका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिले जलपानको आयोजना गरेकी हुन् ।
समारोहमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुखद्वय सुवास नेम्वाङ र दमननाथ ढुङ्गाना, मन्त्री तथा सांसदहरुको सहभागिता थियो ।
यस्तै नेकपा (माले)का महासचिव सिपी मैनाली, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झालगायत नेता सहभागी थिए । सो अवसरमा नेताहरुबीच अनौपचारिक छलफल भएको थियो ।
राजनीतिक सहमतिका लागि बेला बेला नेताहरु बोलाएर प्रयास गरिरहने राष्ट्रपति भण्डारीले आज भने मकरसंक्रान्ति पर्वको अवसर पारेर दलका नेतालाई जलपान गराएकी हुन् ।
अनाथ बालबालिकालाई भोजन
यसैबीच राष्ट्रपति भण्डारीले माघे संक्रान्तिकै अवसरमा बालमन्दिरमा रहेका अनाथ र टुहुरा बालबालिकालाई आज विहान शितलनिवासमा भोज खुवाएकी छन् । शितलनिवासमा करिब २ सय बालबालिका जम्मा भएका थिए ।


















प्रतिक्रिया