१३ कार्तिक २०८३, शुक्रबार

गोपाल दहितले काठमाडौंमा कसरी बनाए तीन तले घर ? टुडिखेलमा अलग–अलग महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । थारु आन्दोलनलाई कमजोर बनाएको आरोप लागेका थरुहट तराई पार्टीका सांसद एवम् शाहीकालीन सहायकमन्त्री गोपाल दहितले काठमाडौंमा तीन तले घर ठड्याएको खुलासा भएको छ ।

थानकोट नजिकै मातातीर्थमा गुपचुप रुपमा चार आना घडेरी किनेका सांसद दहितले जग्गा खरिद र घर बनाउने पैसा कहाँबाट ल्याए भनेर पार्टीभित्र सोधिखोजी सुरू भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पार्टीभित्र नेता तथा कार्यकर्ताहरू गोपाल दहितले बनाएको घरका विषयमा सोधिखोजी भएपछि अध्यक्ष भानुराम थारु बेजवाफ बनेका छन् । स्रोतका अनुसार आफ्नो घरजग्गाका विषयमा केही पनि नबोल्नु भन्दै सांसद दहितले अध्यक्ष थारुलाई दिर्नेशन दिएका छन् ।

थारु आन्दोलनलाई विभाजन गरेर मधेसी मोर्चाको पछाडि लागेका कारण दहितले आर्थिक लाभ पाएको हुन सक्ने स्रोतले बताएको छ । तीन तले घर बनाएको विषयमा दहितले केही बताएका छैनन् । सांसद जस्तो व्यक्तिले आफ्नो सम्पत्ति पारदर्शी बनाउनु पर्ने भनेर कार्यकर्ताले प्रश्न गर्दै आएका छन् ।

अहिले पनि राप्रपाका अध्यक्ष कमल थापा, लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा, बिक्रम पाण्डेसहितका नेताहरूलाई दैनिक भेट गर्दै आएका सांसद दहितले थारु आन्दोलन कमजोर बनाएर व्यक्तिगत लाभ लिएको आरोप छ । उनको यही व्यवहारका कारण लक्ष्मण थारुले थरुहट पार्टी परित्याग गरेर विजय गच्छदार नेतृत्वका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी प्रवेश गर्नु परेको थियो । दाहितकै कारण थारु कल्याणकारिणी सभाको आन्दोलन आर्यघाटमा पुगेको आरोप छ ।

थारु कल्याणकारिणी सभाको आन्दोलनलाई विभाजन गरेर गोपाल दहित र भानुराम थारु मधेसी मोर्चाको पछाडि लागेर नाकाबन्दी लगाउन पुगेका थिए । सांसद दहित र अध्यक्ष थारुको यो कार्यको विरोधमा राजकुमार लेखीहरूले खुलेरै विरोध गरेका थिए । थारु कल्याणकारिणी सभा निकट मानिने थारु विद्यार्थीको संगठनलाई पनि दहित र भानुरामले विभाजन गरेको आरोप छ ।

गोपाल दहित र भानुराम थारुले थारु कल्याणकारिणी सभाको माघी कार्यक्रमलाई विथोल्ने गरेर राजधानीमा समानान्तर माघी महोत्सव कार्यक्रम पनि राखेका छन् । आफ्ना विश्वास पात्र तथा थरुहट तराई पार्टीका सचिव मीनराज चौधरीलाई प्रयोग गरेर अलग थारु महोत्सव गर्न लागेको स्रोतको भनाई छ । थारु कल्याणकारिणी सभाले पनि अलग माघी महोत्सव गर्दैछ ।

गोपाल दहित, भानुराम चौधरी र मीनराज चौधरीले थारुहरूको सांस्कृतिक कार्यक्रमलाई समेत विभाजन गरेपछि थारु अगुवाहरू आक्रोशित बनेका छन् । गोपाल दहित र भानुराम थारुको यही व्यवहारबाट आजित बनेकी सांसद गंगा चौधरीले पार्टी विभाजन गरी सकेकी छिन् ।