३१ आश्विन २०८३, शनिबार

पत्रकार महासंघ युएईको अध्यक्षमा बस्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा भुपराज बस्याल चयन भएका छन् । डिसेम्बर ३० शुक्रबार युएईको बरदुबईमा भएको पाँचौ अधिवेशनले बस्याललाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव धु्रव लम्सालको प्रमुख आतिथ्यमा भएको अधिवेशनले बर्ष २०१७/१९का लागि नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकबाट पन्ध्र बर्ष अघि पत्रकारिता शुरु गरेका बस्याल यसअघि केन्द्रिय प्रतिनिधि थिए ।

स्थापना भए देखिनै सदस्यता लिएका बस्यालले कार्यसमिति सदस्य, उपाध्यक्षको रुपमा आफ्नो कार्यकाल पुरा गरि सकेका थिए । अध्यक्षमा निर्बाचित भएपछि बस्यालले युएईमा रहेका नेपाली दूतावास, एन आर एन ए, नेपाली समाज लगायत सबै संघ संस्थाको सहकार्यमा नेपाली संचारकर्मिको क्षमता अभिबृद्धिसंगै नेपाली कामदार, नेपाली ब्यवसायीको हितमा समेत सकृय रहने प्रतिवद्धता जनाए । बस्याल कारोबार दैनिकका लागि युएई प्रतिनिधि हुन् ।

कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सह सचिवमा निर्भिक नारायण भुर्तेल, कोषाध्यक्षमा दिनेश आचार्य रहेका छन् । यस्तै सदस्यमा मोहन बस्याल, दामोदर दाहाल, निमाकान्त पाण्डे र खिमलाल पाण्डे रहेका छन् । अधिवेशनले बिनोद श्रेष्ठ र हरि नेपालीलाई केन्द्रिय सभाषद चयन गरेको छ ।

अधिवेशनले अघिल्लो कार्यसमितिले पेश गरेका आर्थिक तथा प्रगति प्रतिवेन सुधार सहित पारित गरेको छ । बैठकमा निवर्तमान कमिटिका सचिव लक्ष्मण खनालले सांगठनिक प्रगति प्रतिवेन र कोषाध्यक्ष मेघराज सापकोटाले तीस हजार दिराम बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए । नेपाल पत्रकार महासंघ युएईमा आवद्ध पत्रकार २२ जना छन् ।

युएई पत्रकार महासंघमा आवद्ध नभएका पनि उत्तिकै संख्यामा पत्रकार रहेका छन् । नेपाल पत्रकार महासंघ युएई शाखा सन २००७ मा स्थापना भएको हो । यो शाखा प्रवासमा खोलिएको नेपाल पत्रकार महासंघको पहिलो शाखा हो ।