
म्याग्दीकी इन्दु शर्माका श्रीमानको दुबईमा मृत्यु भयो । श्रीमानको मृत्युपछि उनी एक्लो जीवन बिताउदै आएकी थिइन् । गत वर्ष एक्कासी उनको एक आकर्षक पुरुषसँग भेट भयो । गाउँकै खगेन्द्र न्यौपाने नामक भाईमार्फत भेटेका ती व्यक्तिलाई उनले चिनेका थिए– नाम थियो अभिषेक केसी । केसीले यति मिठो कुरा गरे कि पहिलो भेटमै शर्मा उनीस“ग मोहित भइन् । भाईलाई बैदेशिक रोजगारमा पठाउने शिलशिलामा उनले केसीलाई भेटेकी थिइन् । तर उनले इन्दुकै मन चोरिदिए । खाडी देश नभई भाईलाई उनले पोर्चुगल पठाउने आश्वासन दिएका थिए । नियमित भेट हुँदै गएपछि इन्दुलाई उनले काठमाडौं बोलाए । बिहे गरेर पोर्चुगल लिएर जाने बिश्वास दिलाए । एकल महिला बिन्दुलाई एक आकर्षक र धनी पुरुषले त्यस्तो प्रस्ताव राखेपछि उनी आकर्षित हुनु स्वभाविक थियो । ललितपुरको इमाडोलमा केसीले फ्लाट खोजेर राखिदिए । आफु एक जना ठुलो व्यवसायी भएको भ्रममा पारेर केसीलाई इन्दुलाई फसाएका थिए । श्रीमानको मृत्युपछि बीमावापत आएको १० लाख रुपैयाँ मात्र होइन जग्गा धितो राखेर उनले केसीलाई १६ लाख ५० हजार रुपैयाँ दिएकी थिइन् । श्रीमान जस्तै मानेर बिजनेशका लागि भनेर उनले त्यो पैसा दिएकी थिइन् । करिब चार महिना उनी त्यसरी केसीसँग काठमाडौंमा बसिन् । तर, एकदिन एक्कासी केसी बेपत्ता भए । धेरै दिनसम्म मोबाइल अफ भयो । दिन बित्दै गयो उनको चिन्ता बढ्दै गयो । केही दिनपछि मोबाइल अफ हुने उनको आशा कायमै थियो । तर, महिनादिनसम्म पनि मोबाइल नखुलेपछि नभएपछि आफुलाई नयाँ संसार देखाउने केसी ठग भएको निष्कर्षमा पुगिन् । उजुरी लिएर गत असारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) पुगिन । भाईलाई पोर्चुगल पठाउन र नयाँ जीवन सुरु गर्ने सपना बनाएकी उनी केसीको नक्कली प्रेममा झन् बर्बाद भइन् । इन्दुका भाई पर्ने खगेन्द्रले जेलमा अभिषेक भन्ने नेत्र प्रसाद गिरीलाई चिनेका थिए । खगेन्द्र लागूऔषध मुद्दामा त अभिषेक बैदेशिक रोजगार ठगी मुद्दामा जेल परेका थिए । दुवै जना म्याग्दी कारागारमा रहेका बेला चिनजान भएको थियो । जेलमै नेत्रले आफ्नो बिदेशमा राम्रो कनेक्सन भएको भन्दै बिदेश जाने मान्छे खोज्न लगाएका थिए । सोहीअुनसार गत वर्ष असोजमा जेलबाट छुटेलगत्तै नेत्र र इन्दुको भेट भएको थियो । त्यही भेटले उनको जीवनमा थप दुःख थपिए । उनले उजुरी दिएको ६ महिनापछि सिआईबीले केसीलाई पक्राउ गरेको हो । पक्राउ परेपछि मात्र उनले थाहा पाइन् अभिषेक केसी नाम गरेका युवकको वास्तविक नाम त नेत्रप्रसाद गिरी रहेछ ।
नयाँ पत्रिका दैनिकमा नवराज मैनाली लेख्छन्ः झापा सनी अर्जुन घर भएका गिरीले इन्दुजस्तै ५० भन्दा धेरै युवतीहरुलाई ठगी गरिसकेको खु्लेको छ । पाँचथरका रविन केसी भन्ने पाँचथर, फैलचाका रविनकुमार चिमोरियासँग मिलेर उनले यस्तो ठगी धन्दा चलाउँदै आएका थिए । सिआईबीले गत ८ पुसमा उनीहरुलाई पक्राउ गरेको हो । सुरुमा पक्राउ गर्दा एउटा मात्र उजुरी आएकोमा पक्राउ गरेपछि पीडितहरुको संख्यामा दिनप्रतिदिन बढ्दै गएको सिआईबीकी एसपी मिरा चौधरीले बताइन् । प्रारम्भिक अनुसन्धानमा ५० भन्दा धेरै महिलाहरु उनीहरुबाट ठगिएको खुलेको छ । सिआईबीमा दैनिक पीडितहरुको भीड बढिरहेको छ । जसमध्ये १० जनाले सिआईबीमा जाहेरी दिइसकेका छन् । हालसम्म एक करोड १५ लाख ठगीको उजुरी परिसकेको छ । केहीले आफ्नो इज्जत जाने डरले उजुरी दिएका छैनन् । केहीले नेत्रले, केहीलाई रविनले त केहीलाई दुवै जना मिलेर युवतीहरुलाई ठगी गरेका थिए । नाटकीय शैलीमा उनीहरुले एक पछि अर्को गर्दै युवतीलाई प्रेममा फसाउँदै ठग्दै आएको प्रहरीले जनाएको छ ।
रिनासँगको नक्कली प्रेम
महोत्तरी बर्दीबासकी रिना कार्की पेशाले स्वास्थ्यकर्मी हुन् । ललितपुरको इमाडोलमा बस्ने एकदिन साथीको डेरामा गएकी थिइन् । सोही फ्लाटमा रबिन केसी समेत बस्दथे । साथिकै डेरामा जाने क्रममा एक दिन केसीसँग उनको चिनजान भयो । त्यो चिनजान केही दिनमै बाक्लियो । रिनाको खासै राम्रो जागिर थिएन । ‘प्लान नेपालमा मेरो मान्छे छ, तिमीलाई त्यही जागिर लगाइदिन्छु’ भन्दै आकर्षक जागिरको प्रस्ताव राखेपछि रिनापछि उनीसँग आकर्षित हुँदै गइन् । अभिषेकले उनलाई फोन गर्दै भेट्न थाले । पटक पटक रिनाका घर बर्दिबास समेत पुगे । रिनाको बुबा छैनन् । त्यो कुरा थाहा पाएपछि आफुले सहयोग गर्ने भन्दै परिवारमा दया देखाए । भेटेको एक महिनामै रिनालाई बिहेको प्रस्ताव राखे । तर रिनालाई केसीको गतिविधि केही शंकास्पद लाग्दै गएको थियो । ‘केसी र र कार्की थर पनि पनि मिलेको छ, यत्तिको केटा छोड्नु हुँदैन छोरी’ भन्दै आमाले भनेपछि रिनाले पनि उनीसँगै बिहे गर्ने सपना बुनिन् । मन जित्दै गएपछि उनले बिजनेशका लागि आकस्मिक रुपमा तीन लाख रुपैयाँ चाहिएको भन्दै पैसा मागे । आफ्नै पैसा सबै मुद्दती खातामा भएको नाटक गरेर उनले पैसा मागेका थिए । आमाले बर्दिबासबाट पैसा पठाए, रिनाले नै निकालेर केसीलाई दिइन् । पैसा लिएपछि उनी बेपत्ता भए । ‘सुरुमा नै यो मान्छे ठग जस्तो लागेको थियो,’ रिनाले सिआईबीमा भनिन्, ‘तर आमाले कर गरेपछि बिश्वास गरेको थिएँ, बिश्वासमा पर्दा दुःख पाएँ ।’ केसी पक्राउ परेपछि उनी उजुरी लिएर सिआईबी पुगेकी थिइन् ।
गीत गाउँदै केटी पट्याउँदै
पक्राउ परेकामध्ये रबिन केसी उपनाम भएका ३५ वर्षिय रविनकुमार चिमोरिया लोकदोहारी पनि गाउँछन् । मिठो स्वरमा गीत गाउने भएकाले त्यही कलाबाट उनले धेरै केटीहरुसँग नजिकिएर ठगी गरेको सिआईबीका इन्सपेक्टर हरि बस्नेतले बताए । खासगरी जेसिसको कार्यक्रम तथा पिकनिकमा जाने र आफू ठुलो मान्छे भएको भन्दै उनले प्रभावित पार्दथे । युवतीहरुलाई प्रभावित पार्ने बिशेष कला उनीहरुसँग थियो । चितवनमा मात्र १० जना भन्दा धेरै व्यक्तिलाई उनले ठगी गरेका छन् । जेसिसको एक पिकनिकमा जाँदा गीत गाएर महिलाहरुसँग नजिकिएको अनुसन्धानमा खुलेको छ । कसैलाई बिहेको आश्वासन दिएर त केहीलाई व्यापारको प्रलोभनमा उनले ठगी गरेका थिए । चितवनका दुई महिलाले उनीहरुबाट बर्बाद भएपछि आत्महत्याको प्रयास समेत गरेको प्रहरीले जनाएको छ । एक महिलाले विष नै सेवन गरेकी थिइन् भने अर्की महिला नारायणी नदीमा हाम फाल्न भनेर गएर पनि फर्किएकी थिइन् । विष सेवन गरेकी महिलालाई समयमै उपचार हुँदा उनको ज्यान जोगिएको थियो । सिआईबीमा पुगेकी एक महिलाले आफु हाम फाल्न नारायणीमा पुगेपनि सन्तानको मायाले फर्किएको बताएकी छिन् । गिरी र चिमोरियाका कारण धेरैका परिवार बर्बाद भएका छन् ।
पोखरामा करोडौं ठगी
पोखरामा मात्र २०/३० जनालाई उनीहरुले ठगी गरेको सिआईबीका इन्सपेक्टर बस्नेतले बताए । ‘एकै व्यक्तिलाई एक करोड भन्दा धेरै ठगी गरेको समेत बुझिएको छ,’ इन्सपेक्टर बस्नेतले भने, ‘पोखराबाट धमाधम जाहेरी आइरहेका छन् ।’ त्यस्तै लहानमा पनि धेरै महिलाहरु ठगिएको खुलेको छ । नेत्र प्रसाद छुटेको एक वर्ष मात्र भएको छ, जसमा उनीबाट ५० भन्दा धेरै महिला पीडित भएका छन् । चितवनमा प्रकाशचन्द श्रेष्ठ र गोपी दाहाललाई पनि उनीहरुले बैदेशिक रोजगार र व्यापारको लोभमा ठगी गरेका थिए । त्यस्तै आफ्नै भाउजु पर्ने पंचमाया गिरीलाई भाटभटेनी सुपरमार्केटभन्दा राम्रो सपिङ सेन्टर खोल्ने भन्दै २१ लाख ४० हजार ठगी गरेका थिए । प्रकाशचन्द्र श्रेष्ठलाई अफगानिस्तान पठाउने भनेर तथा दोहाललाई खाद्यान्नको व्यापाारको नाममा ठगी गरेका हुन् । पोखरामा धेरै जसो लाहुरेका श्रीमतीहरु उनीहरुबाट पीडित भएका छन् । व्यापारमा लगानी गर्ने भन्दै पैसा मागेर धेरैलाई उनले पोखरामा ठगी गरेको प्रहरीले जनाएको छ । सिआईबीमा भेटिएकी एक पीडितले भनिन्, ‘योसँग केही मोहनी हुनुपर्छ, कुरा गर्ने वित्तिकै पैसा दिउँ दिउँ जस्तो हुन्थ्यो ।’
पक्राउपछि रोकियो तेस्रो बिहे
उनीहरुविरुद्ध उजुरीकै क्रममा एउटा अनौठो उजुरी आयो । चितवनमा एक महिलासँग रविनको बिहेको तय भइसकेको थियो । युवतीले बिहेका लागि कपडा समेत खरिद गरिसकेकी थिइन् । तर, हुनेवाला श्रीमान एक्कासी सम्पर्कविहिन भएपछि उनी बेचैन भइन् । पछि पत्रिकामा उनी पक्राउ परेको समाचार आएपछि मात्र आफुलाई ठगले फसाउन लागेको उनले थाहा पाएकी थिइन् । ती युवतीसँग पनि विभिन्न बहानामा उनले पैसा लिइसकेका थिए ।
एउटै दोहोरी साँझ, तीन जना गर्लफ्रेन्ड
पछिल्लो सयम उनीहरुले दोहोरी साँझ तथा डिस्कोमा काम गर्ने युवतीहरुलाई ठग्न थालेका थिए । एउटा आई–२० गाडी भाडामा लिएका थिए । आफूहरु धनी व्यक्ति भएको भन्दै भ्रममा पार्न उक्त कार भाडामा लिएका थिए । रविनले नेत्र भर्खर अमेरिकाबाट आएको भन्दै युवतीहरुलाई झुक्याउने गर्दथे । दोहोरी र डान्सबारमा प्राय न्यून आर्थिक अवस्थाका केटीहरु काम गर्ने भएकाले उनीहरु कार चढ्ने व्यक्तिसँग सजिलै प्रभावित हुन्थे । त्यहीकारण उनीहले पछिल्लो समय डान्स बार र दोहोरीसाँझका केटीहरुलाई ठगेका थिए । बालाजुको एक दोहोरी साँझमा मात्र उनीहरुको तीन जना गर्लफ्रेन्ड रहेको खुलेको छ । तीनै जनालाई बिहे गर्ने र बिदेश लैजाने भन्दै ठग्दै आएका थिए । डेरा पनि उनीहरु पटकपटक सर्दथे । पछिल्लो पटक सीतापाइलामा बस्दै आएका थिए । जहाँ उनीहरु हरेक दिन नयाँ नयाँ युवतीहरु लिएर जाने गरेको छिमेकीले बताएका छन् । सीतापाइलाको सोही डेराबाट प्रहरीले म्याग्दीकी इन्दुको पासपोर्ट समेत बरामद गरेको छ । उनीहरुले आफुहरु दाजुभाई भएको भन्दै नक्कली नाममा थर पनि दुवैले केसी राखेका थिए । उक्त गाडी पनि लामो समयसम्म भाडा नदिई चलाउदै आएका थिए । सिआईबीले उनीहरुलाई पक्राउ गरेपछि मात्र धनीले गाडी फिर्ता लगेका छन् । पक्राउ परेका दुवै जना पहिला जेल परेका व्यक्ति हुन् । नेत्र बैदेशिक रोजगार ठगीमा त रविन अपहरण मुद्दामा जेल परेका हुन् । रबिनले यसअघि दुई पटक अपहरण प्रयास गरेको प्रहरीले जनाएको छ । उनीहरुबीच कसरी भेट भयो भन्ने खुल्न सकेको छैन । यात्राकै क्रममा भेटेको उनीहरुले बताएका छन् । दुवै जनाले प्रमाण लुकाउने गरी अपराध गरेका छन् । युवतीहरुकै नाममा सीम कार्ड निकालेका छन् । एक जना व्यक्तिसँग एउटा मात्र सीम कार्ड प्रयोग गर्दथे । ठगीसकेपछि त्यो सीम कार्ड फालिदिन्थे । त्यसकारण पनि उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई ६ महिना लागेको थियो ।
पक्राउ परेका दुवै जनाको २–२ वटा श्रीमती रहेको समेत खुलेको छ । तर दुवैले श्रीमतीहरुलाई भने वास्ता गर्न छाडिसकेका थिए । दुवै जनाको श्रीमतीको आर्थिक अवस्था भने कमजोर रहेको प्रहरीले जनाएको छ । मोजमस्ती गर्नका लागि उनीहरुले ठगी गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रमाण लुकाएर ठगी त्यस्तै पैसा पनि प्रमाण नहुने गरी विभिन्न व्यक्तिको नाममा पठाउन लगाई लिएका छन् । पक्राउ परेपछि आफुविरुद्धको प्रमाण कमजोर हुने भएकाले उनीहरुले यस्तो तरिका अपनाएको प्रहरी अधिकारीहरु बताउँछन् । पक्राउ परेपछि उनीहरुले आफुहरुले पैसा लिएको अस्वीकार गर्दै आएका छन् । केही पीडितहरुलाई भने सबै पैसा फिर्तो गर्ने भन्दै जाहेरी नदिन फकाउने गरेका छन् । नेपालमा ठगीसम्बन्धि कानुन कमजोर भएकाले गिरी र चिमोरियाले जेलबाट छुटेपछि यस्तो धन्दा गरेको प्रहरीको भनाई छ । त्यसरी ठगेको पैसा भने उनीहरुले क्यासिनो र दोहोरीमा उडाउने गर्दथे । गिरी रोमानिया पुगेका बेला क्यासिनोबाट पक्राउ परेका थिए । पछिल्लो समय भने उनी सिक्किमको माजोङ क्यासिनो गएर जुवा खेल्ने गरेको प्रहरीले जनाएको छ । प्रमाण लुकाएपनि यस्ता ठगलाई अदालतले सजाय गर्ने र आफुहरुको पैसा फिर्ता दिलाउने पीडितहरुको आशा छ ।















प्रतिक्रिया