१ कार्तिक २०८३, शनिबार

मन्त्री शाही नेतृत्वको उच्चस्तीय टोलीद्वारा गौतमबुद्ध विमानस्थलको अनुगमन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २१ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले राष्ट्रिय गौरवको आयोजना ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’को काम तीब्रताका साथ अगाडि बढेकामा सन्तुष्टि जनाएका छन् ।

भैरहवास्थित विमानस्थलमा काम भइरहेकोस्थानमा बिहीबार बिहान पुगेका पुगेका मन्त्री शाहीले काममा कुनै पनि बाधाव्यवधान आइपरे सरकारले सहयोग गर्ने आश्वासन दिए । ‘सरकारले गौतमबुद्ध विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर कति महत्व दिएको छ भन्ने कुरा सबैलाई थाहा छ’, उनले भने, ‘अहिलेसम्मको कामको तीब्रता र प्रकृति हेर्दा सन्तोषजनक काम भइरहेको छ । अझै छिटो काम गर्नुस् ।’

मन्त्री शाहीले आफू एक महिना पहिला आउँदा र अहिले आउँदाको कामको अवस्था हेर्दा केही भिन्नता पाएको टिप्पणी गरे । ‘म एक महिना अगाडि आउँदाको भन्दा अहिले धेरै काम अगाडि बढिसकेको रहेछ’, उनले भने, ‘जतिसक्दो छिटो काम समयमा पूरा गर्ने गरेर अगाडि बढ्नुस् । कुनै कठिनाइ भयो भने सरकारले सहयोग गर्छ ।’

मन्त्री शाही सांसद र प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर विमानस्थलको भौतिक कामकारबाही अनुगमन गर्न बुधबार बेलुका भैरहवा पुगेको टोलीमा रहेका कांग्रेसका सांसद राजु खनालले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रोजेक्ट डाइरेक्टर ओम शर्माले हालसम्म भइरहेको कामका विषयमा जानकारी गराएका थिए । चिनियाँ कम्पनीले विमानस्थलको काम गरिरहेको जानकारी दिँदै शर्माले भने, ‘अहिलेसम्म उहाँहरूले पनि राम्रो काम गर्नुभएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न सबै लागेका छौँ ।’

सांसद खनालले विमानस्थलको कामले तीब्रता पाएको प्रत्यक्ष हेर्दा पनि सबैले अनुभव गरेको बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले धेरै महत्व दिएको पाएँ’, खनालले भने, ‘काम पनि सन्तोषजक रुपमा भएको रहेछ । तर यतिले मात्रै पुग्दैन यसलाई अझै तीब्रता दिनुपर्नेमा हाम्रो सल्लाह छ ।’

पर्यटनमन्त्री शाहीसहितको उच्चस्तरीय टोली भैरहवा हुँदै दाङतिर लागेको छ । दाङको तुलसीपुरस्थित विमानस्थल सञ्चालनमा ल्याउने विषयमा अध्ययन र अबलोकन गर्न उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

उच्चस्तरीय टोलीमा पर्यटनमन्त्री शाहीका साथै सिँचाइमन्त्री दीपक गिरी, सांसद राजु खनाल, अनिता देवकोटा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहित रहेका छन् ।