काठमाडौं, २० पुस । संविधान संशोधन प्रस्तावको स्वामित्व लिन आखिरी घडीमा तयार देखिएको मधेसी मोर्चाले अरू राजनीतिक दलसँग संवाद तीव्र पारेको छ ।
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र कमल थापा नेतृत्वको राप्रपासँग संवाद थालेका मोर्चा नेताले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्न आग्रह गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सिंहदरबारस्थित फोरम लोकतान्त्रिक संसदीय दलमा सोमबार दिउँसो पुगेका तमलोपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीलगायत मोर्चा नेताले समर्थनका लागि गच्छदारलाई आग्रह गरेका थिए ।
कांग्रेस, एमाले र माओवादीसँग १६ बुँदे सहमति गरेको पर्सिपल्ट गत वर्ष जेठ २७ गते मधेसी मोर्चाबाट गच्छदारलाई निष्कासन गर्ने निर्णय गरेका मोर्चा नेताहरू अहिले संविधान संशोधन पास गर्नका निम्ति उनैलाई सम्झन पुगेका हुन् । संसदमा फोरम लोकतान्त्रिकको १४ सिट छ ।
‘संशोधन पारित गराउन भूमिका खेल्नेबारे विजयजीसँग हाम्रो सकारात्मक कोणबाट कुराकानी भयो’, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘उहाँले पनि संविधान संशोधनबिना कार्यान्वयन असम्भव रहेको भनी आफ्नो दलले पछिल्लो केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेको भन्दै प्रस्ताव आएकामा खुसी व्यक्त गर्नुभयो ।’
संशोधन प्रस्तावको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले पनि अघिल्लो सत्ता साझेदार फोरम लोकतान्त्रिकसँग पनि सहयोगको आशा राखेको छ ।
फोरम लोकतान्त्रिकको पुस ४ देखि ६ सम्मको केन्द्रीय समिति बैठकले संविधान संशोधन गरी राजनीतिक निकास दिनुपर्ने निर्णय लिएको थियो ।














प्रतिक्रिया