स्वीटजरल्याण्ड । ‘तेश्रो एकीकृत बस्ती निर्माण’ घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई सहयोग गर्नको लागि स्पेनमा आर्थिक संकलन भईरहेको छ ।
प्रबाशी नेपाली मंच स्पेनको पहलमा आर्थिक संकलन गरिएको हो । हेमन्त रानाभाटको संयोजकत्वमा आर्थिक संकलन सुरु गरिएको छ ।
आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूहरुले सहयोग गर्न लागेको रानाभाटले जानकारी दिए ।
भूकम्पपीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेका धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरे लगत्तै मंचले आर्थिक संकलन सुरु गर्ने अभियान लिएको हो ।
चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन । शीतलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए ।
भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताउँदै आएका छन ।
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न धुर्मुस सुंतलीको ‘तेश्रो एकीकृत बस्ती निर्माण’को लागि स्पेनमा पहिलो दिन नै लगभग २ लाख रकम संकलन गरिएको छ ।
यो अभियान जनवरी ३० तारीखसम्म रहने संयोजक रानाभाटले बताए ।















प्रतिक्रिया