काठमाडौं, १३ पुस । नेपाल प्रहरीका बढुवमा भएका डीआईजी, एसएसपी र एसपीले दर्ज्यानी चिन्ह पाएका छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हालै विभिन्न मितिको निर्णय अनुसार एक तह पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हबाट सुशोभन गरेका हुन् ।
दज्र्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्रहरी नायव महानिरीक्षकहरु गणेश केसी, केदारमान सिंह भण्डारी र रमेशकुमार भट्टराई, प्राविधिकतर्फका प्रहरी बरिष्ठ उपरीक्षकहरु ८ जना, प्रहरी उपरीक्षकहरु १३ जना, प्राविधिक प्रहरी उपरीक्षकहरु ९ जना र प्रहरी निरीक्षक १ जना रहेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती प्रणालीले संगठनको भविष्यमा दूरगामी प्रभाव पार्ने चर्चा गर्दै पदोन्नतीका सन्दर्भमा अझै गम्भीर समीक्षा, समयानुकूल सुधार र पुर्नलेखन गरी आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उच्च पदको आकाँक्षालाई सफल पार्न सोही अनुसार समयमै क्षमता बिकासका लागि चिन्तन गर्नुपर्ने, उचित कार्य सम्पादन गर्नुपर्ने तथा संगठनका हरेक मापदण्ड पुरा गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती भएका सबै अधिकृतहरुलाई बधाई तथा शुभकामना दिए ।
समारोहमा पदोन्नती भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक गणेश केसीले संगठनले दिएको जिम्मेवारी उच्च व्यवसायिक ढंगले पुरा गर्दै संगठनलाई थप उचाई दिने कार्यमा लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।














प्रतिक्रिया