काठमाडौं, १३ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक २२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो ।
पुरुष १० हजार मिटर दौडमा गोपीचन्द पार्की पहिलो भए । उनले निर्धारित दूरी ३१ मिनेट ३९.०५ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको महिलामा ३७ मिनेट १६.९० सेकेन्ड समय खर्चदै एपीएफकी कान्छीमाया कोजु स्वर्ण जित्न सफल भइन् । पुरुष ४ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमाल पहिलो भए । उनले ४९.६८ सेकेन्ड समय खर्चे । सोही स्पर्धाको महिलामा आर्मीकी संगीता मेचे पहिलो भइन् । निर्धारित दूरी संगीताले १ मिनेट ०२.६० सेकेन्डमा तय गरिन् । ४ सय मिटर पुरुष हर्डल्समा आर्मीका रामप्रसाद थारु पहिलो भए ।
४ गुणा १० मिटर रिलेको पुरुषमा आर्मी पहिलो, मध्यमाञ्चल दोश्रो र एपीएफ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा एपीएफ तेश्रो भए ।
ब्याडमिन्टन
नेपाल आर्मीकी नङसल तामाङ र एपीएफकी शिक्षा श्रेष्ठ यहा“को मेची सामुदायिक कवर्ड हलमा जारी व्याडमिन्टन प्रतियोगिताको फाइनल पुगेका छन् । वुमेन सिंगलको भीडन्तमा आर्मीकै अनुमाया राईलाई नङसलले २१– १५ र २१–१२ को सोझो सेटमा हराएर फाइनल यात्रा तय गरिन् । दोस्रो खेलमा एपीएफकी शिक्षाले आर्मीकी अमिता गिरीमाथि २०–२२, २१–१३ र २२–२० को रोमाञ्चक जित निकालिन ।
मंगलवार मेन्स सिंगल, मेन्स डवल, वुमेन्स डवल र मिक्स डवलका क्वाटरफाइनल खेलहरु सम्पन्न भए । रत्नजित तामाङ (आर्मी) ले दिपक वोहरा (पुलिस)लाई २१–११ र २१–८ को सोझो सेटमा पराजित गरे । त्यस्तै खन्जिव खड्का (सुदुरपश्चिम) ले सुजन के ताम्राकार (एपीएफ)लाई २१–१९ र २१–१४ को सोझो सेटमा हराए ।
विष्णु कटुवाल (पुलिस) ले नवीन श्रेष्ठ (आर्मी) लाई २१–१८ र २१–१२ ले जिते । दिपेश धामी (आर्मी) ले सुदिप सेढाई (एपीएफ) लाई २१–१७ र २१–१२ ले हराए ।
मेन्स डवलतर्फ दिपेश धामी र सुरज महर्जन (आर्मी) को जोडीले विजित थापा मगर र विशाल प्रधान (एपीएफ) को जोडीलाई २१–१३, २२–२४ र २१–१७ ले हराए ।
त्यस्तै दिपक वोहरा र विष्णु कट्वाल (पुलिस) को जोडीले इरफान अन्सारी र रियाज अन्सारी (मध्यपश्चिम) लाई २१–१७ र २१–१५ को सोझो सेटमा हराए । रत्नजीत तामाङ र नवीन श्रेष्ठ (आर्मी) ले विवेशक जिसि र दिलेन्द्र पुन (पश्चिमाञ्चल) लाई २१–१४ र २१–१५ ले हराए ।
तेस्रो खेलमा जोसेफ अधिकारी र सुमन लिम्वु (एपीएफ)को जोडीले साजन के ताम्राकार र सुदिप सेढाई (एपीएफ) लाई १२–२१, २१–१९ र २१–१९ले पाखा लगाए ।
उमेन डवल्सतर्फ पूजा र शिक्षा श्रेष्ठ (एपीएफ)को जोडीले सीताकुमारी राई र सीमा राजवंशी (पूर्वाञ्चल)लाई २१–७ र २१–१२ को सोझो सेटमा पराजित गरे । त्यस्तै जेसिका गुरुङ र सुनैना मुखिया (आर्मी) ले श्रद्धा प्रधान र श्रद्धेय प्रधान (मध्यमाञ्चल) लाई २३–२१ र २१–१७ को सोझो सेटमा हराउदै सेमिफाइनल पुगे ।
त्यस्तै मेघा चन्द र अनुमाया राई (आर्मी) ले शिक्षा नेउपाने र सम्झना शर्मा (मध्यपश्चिम) लाई २१–११ र २१–११ ले हराए । नङसल तामाङ र अमिता गिरी (आर्मी) ले दुर्गा शर्मा भण्डारी र गंगा विष्ट (सुदुरपश्चिम) लाई २१–७ र २१–१० ले पराजित गर्दै सेमिफाइनल पुगे ।
त्यसैगरी मिक्स डवलतर्फको क्वार्टर फाइनलमा विजित थामा मगर र शोभा गौचन (एपीएफ) ले जीवन आचार्य र सुजता राई (पूर्वाञ्चल) लाई २१–१६ र २४–२२ ले हराउदै सेमिफाइनल प्रवेश गरे । त्यस्तै सुदिप सेढाई र शिक्षा श्रेष्ठ (एपीएफ) ले इरफान अन्सारी र सम्झना शर्मा (मध्यपश्चिम) लाई २१–२० र २१–११ ले पन्छाए । नवीन श्रेष्ठ र अनुमाया राई (आर्मी) ले इन्द्र महत र पूजा श्रेष्ठ (एपीएफ)लाई पराजित गरे ।
अन्तिम खेलमा रत्नजीत तामाङ र नङसल तामाङ (आर्मी) ले विलाल वारिस र समिक्षा नेउपाने (मध्यपश्चिम) लाई २१–१२ र २१–९ को सोझो सेटमा हराए ।
बास्केटबल : मध्यमाञ्चल र आर्मी फाइनलमा
बास्केटबलको पुरुषमा मध्यमाञ्चल र आर्मी फाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलले पश्चिमाञ्चललाई ९९–८१ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा आर्मीले पूर्वाञ्चललाई १०५–७० ले हरायो । फाइनल बुधबार हुनेछ । महिलाको उपाधि मध्यमाञ्चलले जितिसकेको छ ।
सेपाकताक्रोे : आर्मीलाई उपाधि
सेपाकताक्रोको पुरुष टिम इभेन्टमा आर्मीले स्वर्ण जित्यो । आर्मीले मध्यमाञ्चललाई २–० ले पराजित ग-यो । सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–१ ले हराउदै तेश्रो भयो । ५ स्पर्धामा समावेश सेपाकताक्रो मंगलबार सम्पन्न भएको छ ।
पुरुष हक्कीमा आर्मीले मध्यमाञ्चललाई १२–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलबीचको अर्को सेमिफाइनल गोलरहित बराबरीमा टुंगियो । बराबरीमा टुंगिए पनि खराब प्रकाशका कारण समय थप्न नमिल्ने भएपछि खेल स्थगित गरिएको छ । बुधबार उक्त सेमिफाइनल पुनः सुरुआतकै अवस्थाबाट खेलाइने हक्की प्रशिक्षक राजेन्द्र पाठकले जनाएका छन् ।
महिलाको राउन्ड रोविन लिगमा सुदूरपश्चिमाञ्चले आर्मीलाई १–० गोलअन्तरले पन्छायो । जितसंगै सुदूरपश्चिमाञ्चल ६ अंकसहित शीर्ष स्थानमा छ ।
पुरुष फुटबल : सेमीफाइनल समीकरण पुरा
पुरुष फुटबलको सेमीफाइनल समीकरण पुरा भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार समुह ‘ख’ अन्र्तगत त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पुरा भएको हो ।
समुह ‘ख’ बाट आर्मीले ७ अंकसहित समुह विजेता बनेर अन्तिम चारमा स्थान पक्का ग-यो भने ५ अंक जोडेको एपिएफ उपविजेता हुदै सेमीफाइलन पुग्यो । समुह ‘क’ विजेता हुदै नेपाल पुलिस क्लब र मध्यमाञ्चल क्षेत्र उपविजेता हुदै यसअघि नै सेमीफाइनल पुगिसकेको छ ।
आर्मीले लिग चरणको तीन खेलमध्ये २ मा जित र एक खेलमा बराबरी खेल्दै कुल ७ अंक जोड्यो । सशस्त्रले भने एक खेलमा जित र २ मा बराबरी खेलेको थियो । मंगलबार आर्मीसँगको खेलमा बराबरी मात्र खेलेपनि सशस्त्रलाई सेमीफाइनल यात्रा सहज थियो । बुधबार समुह ‘क’ को विजेता पुलिसले समुह ‘ख’को उपविजेता सशस्त्रसँग पहिलो सेमीफाइनल खेल्नेछ भने समुह ‘ख’को विजेता आर्मी र समुह ‘क’को उपविजेता मध्यमाञ्चलबीच दोस्रो खेल हुनेछ । समुह खबाट सुदुरपश्चिमाञ्चल क्षेत्र र मध्यपश्चिमाञ्चल क्षेत्र बाहिरिएको छ ।
तेक्वान्दो : आर्मीलाई सर्वाधिक स्वर्ण
तेक्वान्दोमा मङ्गलबार नेपाल आर्मीले थप दुई स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीले पहिलो दिन दुई र दोस्रो दिन चारवटा स्वर्ण पदक जितेर सर्वाधिक स्वर्ण जितेको हो ।
८७ केजी पुरुष तौल समूहमा रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । सो इभेन्टमा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र एपीएफका गोपाल पुतुवारले काश्य पदक जिते ।
५७ केजमिा नेपाल आर्मीकी ज्ञानी चुनाराले पहिलो भइन् । स्वर्ण पदकको भिडन्त मध्यमाञ्चलकी करुणा थापाले बीचमै खेल परित्याग गरेपछि चुनारालाई फाइनल जित्न धेरै परिश्रम गर्नुपरेन । यस इभेन्टमा मध्यपश्चिमाञ्चलकी सपना सारु मगर र सीता तामाङ संयुक्तरुपमा तेस्रो भए ।
५३ केजी महिला तौल समूहमा सुदुरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीकी निमा गुरुङले स्वर्ण पदक हात पारिन् । मध्यमाञ्चलकी रेश्मा थापा मगर र पश्चिमाञ्चलकी होमकुमारी गुरुङले कांस्य जिते । ६२ केजी तौल समूहमा एपीएफकी संगिता बस्यालले स्वर्ण पदक चुमिन् ।
संगीताले फाइनलमा पूर्वाञ्चलकी सुष्मा श्रेष्ठलाई निराश पारिन् । मध्यपश्चिमाञ्चलकी प्रतिभा थारु र पश्चिमाञ्चलकी एलिसा केसीले काश्यमा चित्त बुझाए ।
ह्यान्डबल
पुरुष ह्यान्डबलमा एपीएफले मध्यपश्चिमाञ्चललाई ५६–१४, पश्चिमाञ्चलले मध्यमाञ्चललाई ४५–१३ तथा आर्मीले सुदूरपश्चिमाञ्चललाई ४८–११ ले पराजित गरे । महिलाको लिग खेलमा एपीएफले आर्मीलाई ३६–९, पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई २८–२ तथा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चलाई १९–४ ले हराए ।
बुद्धिचाल : मदनकृष्ण र मोनालीसाको अग्रता
सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र नेपाल आर्मीकी मोनालीसा खम्बुले अग्रता बनाएका छन् ।
खुलातर्फको प्रतिष्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलालाई पराजित गर्दै मदनले अग्रता बनाएका हुन् । मंगलबार सम्पन्न छैटौं चरणको खेलमा भुपेन्द्रमाथिको संघर्षपूर्ण जितबाट प्रेरित मदनले सातौं चरणमा नेपाल आर्मीका हिमाल लामासँग बराबरी खेले । सात चरणको समाप्तिमा उनको ६ अंक भएको छ ।
त्यसैगरी महिलातर्फको खेलमा नेपाल आर्मीका मोनालिसा खम्बुले छैटौं चरण एपिएफ क्लबकी शान्ता थापा र सातौ चरणमा पूर्वाञ्चलकी कृपा अधिकारीलाई हराउँदै ६ दशमलब ५ अंकका साथ अग्रता कायम गरिन ।
नेपाल आर्मीका हिमाल लामा र मध्यमाञ्चलका क्यान्डिडेट मास्टर रिजेन्द्र राजभण्डारी समान ५ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । नेपाल आर्मीका भुपेन्द्र निरौला, मध्यमाञ्चलका क्षितीज भण्डारी तथा नवीन तण्डुकार तथा पूर्वाञ्चलका प्रकाश नेपाल समान पाँच–पाँच अंकमा रहेका छन् ।
त्यसैगरी एपिएफ क्लबका सुमित पन्त तथा मध्यमाञ्चलका आशिष फुँयालको समान ४ दशमलब ५ अंक रहेको छ । नेपाल आर्मीका केशव श्रेष्ठ, पूर्वाञ्चलका सुमन श्रेष्ठ, मध्यमाञ्चलका सुरज पण्डित, संजय महर्जन तथा कमल श्रेष्ठ, पश्चिमाञ्चलका सविन चन्द्र घिमिरे तथा सुदुरपश्चिमाञ्चलका मोहन प्रसाद भट्ट समान चार–चार अंकमा रहेका छन् ।
महिलातर्फ नेपाल आर्मी क्लबकी सिन्दीरा जोशी ६ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् । सिन्दिराले छैटौं चरणको खेलमा मध्यमाञ्चलककी पूर्णिमा जयसवाललाई हराईन भने सातौ चरणमा नेपाल आर्मीकै वुमन क्यान्डिडेट मास्टर सुरुची थिङसँग बराबरी खेलिन । पश्चिमाञ्चलकी अञ्जु शर्मा तथा पूर्वाञ्चलकी खुस्बु थापालाई हराउँदै नेपाल आर्मीका वुमन फिडेमास्टर सुजना लोहनीले ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भएकी छन् ।
एपीएफ क्लबकी शान्ता थापा, नेपाल आर्मीकी सुरुची थिङ, मध्यमाञ्चलकी पूर्णीमा जयसवाल, बिना जयसवाल तथा सविना श्रेष्ठ समान ४ दशमलब ५ अंकमा रहेका छन् ।
जिम्न्याष्टिक
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्नास्टिक खेलको फोलोर इभेन्टमा सशस्त्र प्रहरी बलको महिला टोलीले स्वर्ण पदक जितेको छ ।
मङ्गलवारबाट सुरु भएको जिम्नास्टिक खेलको फोलोर इभेन्टमा ७७.४५ अङ्कसहित स्वर्ण जितेको हो ।
मध्यमाञ्चल विकास क्षेत्र ७१.३५ अङ्कसहित रजत पदक प्राप्त गरेको छ । मध्यपश्चिमाञ्चल विकास क्षत्रेले ४२.४५ अङ्क ल्याउ“दै कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीसहित ५ विकास क्षेत्रका ७२ जना महिला पुरुष सहभागि रहेका जिम्नास्टिक सङ्घका केन्द्रीय अध्यक्ष किशोरबहादुर सिंहले बताए ।
सफ्ट टेनिस : प्रदीप र निर्मलको जोडीलाई स्वर्ण
सफ्ट टेनिसको पुरुष डबल्समा मध्यमाञ्चलका प्रदीप खत्री र निर्मलकाजी स्थापितको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा पूर्वाञ्चलका आशिष बोहरा र युकेश योञ्जनको जोडीलाई ५–० को सोझो सेटमा पराजित गरे ।
पुरुष टिम स्पर्धामा पूर्वाञ्चल पहिलो, मध्यमाञ्चल दोश्रो तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल तेश्रो भए । सोही स्पर्धाको महिलामा मध्यमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल तेश्रो स्थानमा रहे ।
स्यान्टु नयाँ च्याम्पियन
टेबल टेनिसमा नेपाल पुलिसका स्यान्टु श्रेष्ठ नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । श्रेष्ठले पुरुष एकलको फाइनलमा एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक कब्जा गर्न सफल भए ।
च्याम्पियन बनेका श्रेष्ठले सेमिफाइनलमा नेपाल पुलिसका नै तिन पटक च्याम्पिएन भएका दिप साउनलाई पराजित गर्दै फाइनमा आफ्नो ठाउँ सुरक्षित गरेका थिए । यो जितसँगै सानो उमेरमा पाएको सफलताले आगामि दिनमा खेल्नको लागि अझ हौसला मिलेको श्रेष्ठले बताए ।
एपिएफका शिवसुन्दरले रजतमा नै चित्त बुझाए भने आर्मीका मणि कुमार तामाङ र एपिएफका अम्मरलाल मल्लले कास्य पाएका छन । मणिले एपिएफका पुरुषोत्तम बज्राचार्यलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । बज्राचार्य दिप साउन विजेता भएको समयका उपविजेता थिए ।
सहिद रङ्गशालाको कर्वड हलमा मंगलबार भएको टेबल टेनिस अन्तर्गत एकल महिला तर्फ नेपाल पुलिसका नविता महर्जनले स्वर्ण जितेकी छिन । नेपाल पुलिसका नै एलिन महर्जनलाई ११–०, ११–८, १०–१२, ११–४, ९–११, ११–८ ले पराजित गरेकी हुन ।
यो जितसँगै नविताले लगातार ६ पटक च्याम्पिएन हुँदै स्वर्णमा नाम लेखाउन सफल भएकी हुन । आफू लगातार सफल भएकोमा खुसी व्यक्त गर्दै नविताले आगामी दिनमा पनि सफल हुन सक्नेमा आफू सक्षम रहेको बताईन ।
पुलिसकी एलिना महर्जनले रजतमा चित्त बुझाईन भने नेपाल आर्मीका श्वेच्छा नेवाङ र नेपाल आर्मीका नै रविना महर्जनले कास्य पाए । नेपाल पुलिसले ६ वटा स्वर्ण पाएको छ । नेपाल आर्मीले एक स्वर्ण जितेको छ ।
पुरुष क्रिकेट
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको क्रिकेटको मंगलवार भएको खेलमा मध्यपश्चिमाञ्चल र पश्मिाञ्चल विजयी भएका छन ।
मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको समुह क को पहिलो खेलमा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ७ विकेटले पराजित गरेको छ ।
मंगलबार विहान लागेको हुस्सुको कारण १५ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले निर्धारित ओभरमा ६ विकेट गमाई ९९ रनको योगफल तयार पारेको थियो ।
सुदुर पश्चिमाञ्चलका लागि दिनेस आग्रीले २२ बलमा ६ चौका प्रहार गरी नटआउट ४० रनको बनाउन सफल भएकाथिए । मध्यपश्चिमाञ्चलका विजय चौधरीले ३ ओभरमा १५ रन दिए २ विकेट तथा नासीर अन्सारी, सिद्धान्त शाही र अमर सिंहले समान १/१ विकेट लिएका थिए ।
जवाफमा १ सय रनको विजयी लक्ष्य सहित मैदानमा ब्याटिंग गर्न उत्रिएको मध्यपश्चिमाञ्चलले १२ ओभर ५ बलमै ३ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियोे । मध्य पश्चिमाञ्चलका लागि प्रनिक थापाले ३७ बलमा २ छक्का र ३ चौका गरी अविजित ५६ रन र अनुपम सिंहले अविजित १६ तथा सुवेन्दु पाण्डेले ११ रनको योगदान दिएका थिए ।
सुदूरपश्मिाञ्चलका दिनेश अग्रीले ३ ओभरमा २३ रन दिएर २ विकेट तथा रोशन नेपालिले १ विकेट लिएका थिए । दोस्रो खेलमा पश्मिाञ्चलले प्रतियोगिताबाट बाहिरी सकेको पूर्वाञ्चललाई ५ रनकोे अन्तरले पराजित गरी सेमीफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।
पश्चिमाञ्चलले ३ खेलमा २ मा जित र १ मा पराजित भइ ४ अंकका साथ समुहको दोस्रो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको पश्मिाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट गमाई १ सय ४३ रन बनाएको छ ।
पश्चिमाञ्चलका लागि कृष्ण कार्कीले ४१ बलमा ५ छक्का र ३ चौका प्रहार गरी नटआउट ५५ रन बनाएका थिए । अन्तिम थापाले ४१ बलमा २ चौका प्रहार गरी ४१ तथा शंकर रानाले २१ रनको योगदान गरेका थिए ।
पूर्वाञ्चलका सन्दिप ढुंगाानाले ४ ओभरमा २० रन दिएर २ विकेट र फिरदोस अन्सारी र विवेक यादवले समान १/१ विकेट लिएका थिए । जवाफमा १ सय ४४ रनको लक्ष्य सहित व्यटिंग गरेको पूवाञ्चलले १९ ओभर ३ बलमा सवै विकेट गमाई १ सय ३८ रनमात्र जोड्न सक्यो ।
पुर्वाञ्चलका लागि महबुब आलमले ३० बलमा २ छक्का र ५ चौका प्रहार गरी ४७ रन तथा विवेक यादवले १९ र पुष्प थापाले १४ रन बनाए । पश्मिाञ्चलका लालबहादुर अधिबारी, धिरज शाही, अमृत गुरुङ र शाह आलमले समान २/२ विकेट लिएका थिए ।
प्रतियोतामा बुधवार नेपाल पुलिस क्लब तथा मध्यमाञ्चल विकास क्षेत्र र त्रिभुवन आर्मि क्लब तथा ससस्त्र प्रहरिको एपिएफ विच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा समुह ए मा शसस्त्र प्रहरिको एपिएफ दुइ खेल जितेर ४ अंक सहित समुह एको शिर्ष स्थानमाछ भनेँ समा ४ अंक जोडे पनि नेट रनरेटको आधारमा त्रिभुवन आर्मि क्लब दोस्रो स्थानमाछ । समुह वि मा २ खेल जितेको नेपा पुलिस ४ अंक सहित शिर्ष स्थानमा रहेकोछ भने ३ खेल जितसमान अंक बनाएको पश्चििमाञ्चल विकासक्षेत्र नेट रनरेटको आधारमा दोस्रो स्थानमाछ ।
उसु
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको उसु खेलमा नेपाली सेनाले स्वर्ण बर्चश्व कायम गरेको छ ।
आज अमर सेवा समाजको कबर्डहलमा भएको फाईनल खेलमा नेपाली सेनाले १० स्वर्ण पदक सहित ४ वटा रजत र ५ वटा कास्य पदक हात पारेको छ ।
नेपाली सेनाका तर्फबाट उसुको थावलु तर्फ विजय थापा सिन्जाली, हरि प्रसाद गोले, सबिता राई, ओशिन राई, निमा घर्तिमगरले स्वर्ण पदक हात पारे भने सान्सौं तर्फ चित्र सिंह ठकुरी, रामचन्द्र बराल, लुमन्ति श्रेष्ठ र बिन्दु पुनले स्वर्ण पदक हात पारे ।
त्यसै गरि अर्को विभागिय टोलि सशस्त्रले ६ वटा स्वर्ण पदक सहित ३ रजत र ४ कास्य पद जितेको छ । सशस्त्रका तर्फबाट थावलु तर्फ सुस्मिता तामाङ, सान्सौं तर्फ अशोक खालिङ, अमर सुनार, मंगल प्रसाद थारु, संजीव महर्जन, तेज बहादुर पल्लीले स्वर्ण पदक जितेका हुन् ।
अर्को विभागिय टोलि नेपाल पुलिसका तर्फबाट प्रेमचन्द्र सिंह दर्लामी र जुनी राईले सान्सौं तर्फबाट स्वर्ण पदक पाए भने १ वटा रजत र ४ वटा कास्यमा पुलिसले चित्त बुझाएको छ ।
यता मध्यमाञ्चलबाट सान्सौं तर्फ क्रान्ति लामा, अन्जली श्रेष्ठ, थावलु तर्फ राजु लामाले स्वर्ण हात पारे भने ५ वटा रजत र ५ वटा कास्य हात पारेको छ । घरेलु मैदानमा आयोजना गरिएको सातौं राष्ट्रिय खेलकुदको उसु तर्फ पुर्वाञ्चल स्वर्ण पदक विहिन भएको छ ।
आजको फाइनलमा ४ वटा रजत सहित ६ वटा कास्य पदक हात पारेको छ । त्यस्तै पश्चिमाञ्चलले १ वटा रजत र ४ वटा कास्य पदक प्राप्त गरेको छ ।
त्यस्तै मध्यपश्चिमाञ्चलबाट थावलु तर्फ दिपक हमालले १ स्वर्ण पाए भने १ वटा रजत र ३ कास्य पाएका छन् । सुदुरपश्चिमाञ्चलबाट सान्सौ तर्फ एलिना चौधरीले स्वर्ण पदक हात पारिन् भने ४ रजत र ६ वटा कास्य हात पारेका छन् ।
सुटिङ
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको सुटिङ खेलमा महिला पेस्तोल ४ सय अंकमा मध्यपश्चिमाञ्चलकी कृष्ण थापाले ३ सय ६२ अंकसाथ स्वर्ण पदक जितेकी छिन । नेपाल प्रहरीकी सिमा तुलाधरले ३ सय ५४ अंक सहित रजत पदक हात पारेकी छन् । मध्यमाञ्चलकी संगीता कार्कीले ३ सय ५१ अंक सहित कांस्य पदक ल्याएकी छन् ।
यस्तै पुरुष पेस्तोलको ६ सय अंकमा मध्यमाञ्चलका सुमन तुलाधरले ५सय५८ सहित स्वर्ण पदक हात पारेका छन् । मध्यमाअञ्चलका बदरदिन अन्सारीले ५सय ४५ अंक सहित रजत पदक ल्याएका छन् ।
मध्यमाञ्चलका दिपेस खडकाले ५ सय ३८ अंक ल्याएर कास्य हात पारेका हुन ।
नेपाल पुलिसले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तरगत महिला १० मिटर एयर राईफल टिम ईभेन्ट्समा स्वर्ण हात पारेको छ ।
अश्मिता राई, फुलमाया क्याप्छाकी र दूर्गा सिंजालीको जोडीले कुल ११२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् । रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले १०६८ अंक हासिल ग-यो । मध्यपश्चिमको टिममा शान्ति बिष्ट, सिता सिंह र रुशी सोमै थापामगर रहेका थिए । यस्तै विना परियार, कल्पना परियार र सुविना तामाङ्गको आर्मीको टिमले १०५४ अंकमा खुम्चिंदै कास्य पदकमा चित्त बुझाए ।
लनटेनिस
पोखरामा जारी लनटेनिसको पुरुष सिंगल्समा आर्मीका संरक्षकभूषण वज्राचार्य र प्रहरीका कमलबहादुर भण्डारी फाइनलमा प्रवेश गरेका छन् । सो स्पर्धाको महिलामा जुम्ल्याहा दिदीबहिनी प्रहरीका मायांका र माहिका राणा फाइनलमा भिड्ने छन् ।
महिला डबल्समा प्रहरीका मायांका र माहिका तथा आर्मीका इरा रावत र अभिलाषा विष्ट फाइनलमा पुगेका छन् ।
















प्रतिक्रिया