चितवन, १० पुस । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झैं पुस २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताउनुभएको छ ।
शनिबार मात्रै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्रिस्मस डेमा सार्वजनिक विदा दिने निर्णय गर्नुभएको थियो ।
त्यसको भोलिपल्ट चितवन पुगेका सहरी विकासमन्त्री केसीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीमा पुस २७ गते अर्थात राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदाको प्रस्ताव अघि सार्नुभएको हो ।
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उहाँले आफ्नो यसमा निरन्तर जोड रहने र सार्वजनिक विदाका लागि मन्त्रिपरिषद बैठकमा कुरा उठाउने बताउनुभयो ।
२०६२–६३ को आन्दोलनपछि राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा हटाइएको थियो । गत वर्ष केपी ओली नेतृत्वको सरकारमा एमाले र राप्रपाका मन्त्रीहरुले विदाको प्रस्ताव गरेपनि माओवादी मन्त्रीहरुले परिवर्तन विरोधी गतिविधि भन्दै मानेका थिएनन् ।
यसपटक त झन माओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार छ । जसका कारण कांग्रेसका मन्त्रीले उठाएको विदा प्रस्तावमा निर्णय हुने सम्भावना न्यून छ ।
सरकारले विदा नदिएपनि अधिकांश नेपालीले राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाउने गर्दछन् ।
‘संविधान कार्यान्वयनमा सबै दल मिल्नुपर्छ’
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प छैन भन्नुभयो ।
संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उहाँले भन्नुभयो, “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्षीलाई छ ।” संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उहाँले बताउनुभयो ।
सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले रु २५ हजार प्रदान गर्नुभएको थियो । भवन गत वर्षे आजकै दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुने क्रममा छ । रासस
















प्रतिक्रिया