काठमाडौं, ७ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उपनेता रायमाझीले संविधान संशोधन प्रस्ताव जनताको चाहना नै नभएकोले यसलाई सरकारले फिर्ता लिनुपर्ने बताए ।
रायमाझीले भने– ‘यो प्रस्ताव जनताको चाहना विपरित छ, सरकारले संशोधन प्रस्ताव फिर्ता लिँदा राम्रो हुन्छ, गाह«ो हुन्छ भने यसलाई तत्काल स्थगन गरेर चुनावमा गई संविधान कार्यान्वयन गर्नुपर्छ ।’
उनले प्रदेश सीमांकन हेरफेरसहित आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेको आरोप लगाए । उनले अघि थपे, ‘अहिले प्रदेशको सिमांकन हेरफेर गर्न कुनै आवश्यक नै छैन्, यो राष्ट्र, जनता र कुनैपनि पार्टीको हितमा छैन्, पहिले मिलिसकेको कुरालाई अब विवादमा ल्याएर बल्झ्याउने काम गर्नुहुँदैन् ।’
रायमाझीले ९० प्रतिशतले जारी गरेको संविधान संशोधन गर्ने हो भने त्यो भन्दा बढिको सहमति र सहभागितामा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘होईन भने यो जनमतको अपमान हो, उल्लंघन हो ।’
उनले संविधान संशोधन नभए संविधान नै कार्यान्वयन हुँदैन भन्ने कुरामा आफू असहमत रहेको बताउँदै भने, ‘९० प्रतिशतले बनाएको संविधान अब कार्यान्वयनमा जुट्नुपर्छ, सबै दल गम्भिर गर्नुपर्छ, यदि आन्दोलनकारीहरुको माग सम्बोधन गर्ने हो भने सबै दलहरुवीच सहमति हुनुपर्छ ।’
‘ज्ञानेन्द्रलाई पनि बोल्ने अधिकार छ’
फरक प्रसँगमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ जारी गरेको प्रेस वक्तव्यलाई लिएर उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र पनि यो देशको नागरिक हुन्, उनले बोल्न पाउँछन्, गणतन्त्रमा सबैलाई आफ्नो कुरा राख्न पाउने अधिकार छ, उनले त्यही अधिकार प्रयोग गरेका छन् ।’
यद्यपी उनले पूर्वराजा शाहले जारी गरेको वक्तव्यमा भाषा अमूर्त रहेको भन्दै त्यसबारेमा आफूले कुनै टिप्पणी नगर्ने स्पष्ट पारे । उनले मुलुकमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक स्थिति मजबुद भएको भए बाह्य शक्तिले चलखेल गर्न नसक्ने बताउँदै मुलुकको आन्तरिक राष्ट्रियतालाई बलियो बनाउँदै आर्थिक समृद्धितिर लाग्नुपर्नेमा जोड दिए ।
उनले अघि थपे, ‘राजतन्त्र हुँदा पनि देश सफल थिएन, इतिहासमा देशलाई समृद्ध बनाएको भए आज विदेशीहरुले चलखेल गर्ने थिएनन्, यसलाई उनीहरूले नै रोपेका हुन्, बरु अहिलेका दलहरूले क्रमशः हटाउने कोसिस गरिरहेका छन् ।’
















प्रतिक्रिया