३१ आश्विन २०८३, शनिबार

महिला फुटबलका दुवै खेल बराबर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा बुधबार भएको दुवै लिग खेल बराबरीमा टुंगिएको छ ।

समूह ‘क’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब र नेपाल प्रहरी क्लबले १–१ को बराबरी खेले । धीमकुमारी गुरुङले १८ औं मिनेटमा गोल गर्दै प्रहरीलाई अग्रता दिलाएकी थिइन् ।

एपीएफकी तेजकुमारी गुरुङले ३८ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

बराबरीसंगै प्रहरी विजेता र एपीएफ उपविजेतका रुपमा सेमिफाइनल पुगे । प्रहरी र एपीएफको समान ७–७ अंक भएपनि गोलअन्तरका आधारमा प्रहरी समूह विजेता बनेको हो । प्रहरीले ८ गोल गर्दै १ गोल खाएको छ । आठै गोल गरेको एपीएफले २ गोल खाएको छ ।

दुहबी रंगशालामा भएको समूह ‘ख’ को लिगमा नेपाल आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । आर्मी ७ अंकसाथ विजेता र मध्यमाञ्चल ५ अंकसाथ उपविजेता हुँदै सेमिफाइनलमा पुगे ।

बुधबारको खेल समापनसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनल प्रहरी र मध्यमाञ्चल तथा एपीएफ र आर्मीबीच शुक्रबार हुनेछ । समूह चरणको खेल बिहीबार सकिने छ ।

त्यसदिन पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तथा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन् ।

सातौं राष्ट्रियअन्तर्गत पुरुष फुटबल बिहीबारदेखि सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् ।

समूह ‘क’ मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल तथा समूह ‘ख’ मा एपीएफ, मध्यपश्चिमाञ्चल, साविक विजेता सुदूरपश्चिमाञ्चल र आर्मी छन् । समूह विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्नेछन् ।

पहिलो दिन समूह ‘क’ को दुई लिग खेल हुनेछ । पहिलो खेल प्रहरी र पूर्वाञ्चल तथा दोश्रो पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ । फाइनल सातौं राष्ट्रियको अन्तिम दिन पुस १५ गते हुनेछ ।