
देवदह (रुपन्देही), ६ पुस । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या पश्चात परिवारको विचल्ली भएको छ ।
तिवारीको गत पुस ४ गते सोमबार रुपन्देहीको पूर्वी क्षेत्र देवदहको खैरेनीमा अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको थियो । तिवारीका दुई छोरी श्रीमती र आमा रहेका छन् । तिवारी ४ दाजु भाईमध्ये कान्छा छोरा हुन ।

तिवारीको हत्यासंगै परिवारमा सन्नाटा छाएको छ । तिवारीकी श्रीमती रेणु तिवारीको अवस्था ज्यादै कमजोर छ भने छोरीहरु ६ बर्षकी रितिका र ४ बर्षकी दिपिकाले बारम्बार बाबा खोजिरहेका छन । घरमा पुग्ने हरेका मानिस संग उनीहरुको एउटै प्रश्न हुन्छ हाम्रो बाबा खोई ? श्रीमती रेणुको आँखा ओभाएको छैन उनि घरी सडकमा हेर्छिन घरी छोरीहरु समातेर रुन्छिन । उता आमाको अवस्था पनि उस्तै छ ।
दाजुहरु हरिप्रसाद तिवारी, जगदिश तिवारी र चक्रपाणी तिवारी आफ्नो भाईका हत्यारालाई कारवाहीको लागि बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रहरी लगायतसंग भेटघाट गरिरहेका छन् ।
तिवारीका छोरीहरु स्थानीय मन्टेश्वरीमा अध्यन गरिरहेका छन् । साना नानीहरुको दैनिकी उस्तै छ, खेल्छन घरमा आउने हरेक मानिसलाई नियालेर हेर्छन्, उनीहरुको आखाले एउटै प्रश्न गर्छ हाम्रो बाबा खोई ? अनि त्यहाँ पुग्ने हरेकको आँखा रसाउछ ।
तिवारीको शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ, पोस्टमार्टम सकिए आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । परिवारले देवदहको कुनै स्थानमा दुर्गाको शालिक निर्माण गर्न र शहिद घोषणा गर्नुपर्ने माग राखेको छ ।
प्रहरीले हत्या आशंकामा विभिन्न ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तिवारी हत्याको विरोधमा आज पनि रुपन्देही आसपासमा कुनै सार्वजनिक सवारी साधन चलेका छैनन भने शिक्षण संस्था कलकारखाना पूर्ण रुपमा बन्द छ ।
टंक सुनारबाट ।























प्रतिक्रिया