४ मंसिर २०८३, शुक्रबार

ग्रीन सिग्नल पाएपछि संशोधन प्रस्तावलाई कार्यसूचीमा राखेँ : सभामुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । सभामुख ओनसरी घर्तीले संसदको कार्यसूचीमा संशोधन प्रस्ताव परिसकेकाले अब आफूले कुनै किसिमको प्रवाह नगरेर नियमावलीअनुसार अगाडि बढ्ने बताएकी छिन् ।

सिंहदरबारस्थित संसद सचिवालयस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग सोमबार कुरा गर्दै सभामुख घर्तीले संशोधन प्रस्ताव प्रमुख दलहरूको ग्रीन सिग्नलमा अगाडि बढेको दाबी गरिन् ।

‘प्रमुख तीन दलका शीर्ष नेताहरूसँग कि सहमति गर्नुस् कि म संसद नियमावलीअनुसार अगाडि बढ्छु भने’, उनले भनिन्, ‘त्यसपछि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले प्रक्रियाअनुसार अगाडि बढ्ने संकेत गर्नुभयो । मैले सोमबारको संसद बैठकमा संशोधन प्रस्ताव र निर्वाचन कानूनहरू कार्यसूचीमा राख्न लगाएँ ।’

तीन दलका शीर्ष नेताहरूको बैठकमा संशोधन प्रस्तावमा के गर्ने भन्ने विषयमा कुराकानी हुने क्रममा ‘सभामुखले स्वविबेक’ प्रयोग गर्ने सहमति भएको सभामुख घर्तीको भनाइ थियो ।

यद्यपि बैठकमा एमालेले भने आफूहरूको अडान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने भएकाले प्रमुख विपक्ष दलको हैसियतले सदन अबरोध जारी राख्ने जनाएको थियो ।

शीर्ष बैठकमा संशोधन प्रस्ताव, स्थानीय तहको निर्वाचन र महाअभियोग प्रस्तावलाई प्याकेजमा सहमति गर्ने विषयमा पनि छलफल भएको उनले बताइन् । ‘प्याकेजमा सहमति खोज्ने कुराकानी पनि भएको थियो’, घर्तीले भनिन्, ‘दलहरूबीच प्याकेज वा जसरी सहमति भए पनि संसदको गतिरोध अन्त्य हुनुपर्छ भन्ने मरो मान्यता हो ।’

सिंहदरबारमा बसेको प्रधानमन्त्रीसहित तीन दलको बैठक सकारात्मक रहेको सभामुख घर्तीको भनाइ थियो । उनले संशोधन प्रस्तावका विषयमा आफू नियमावलीअनुसार अगाडि बढ्ने दोहोराएर बताएकी थिइन् ।