काठमाडौं, ४ पुस । संसदको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहिन बनेको छ ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा संविधान संशोधन, निर्वाचन, अख्तियार प्रमुख आयुक्तको महाअभियोग र संसदमा जारी गतिरोध अन्त्य गराउनेबारे छलफल भएको थियो ।
छलफलमा सत्तापक्षले संविधान संशोधन फिर्ता नहुने अडान लिएपछि सहमति जुट्न सकेन् ।
बैठकमा सहभागी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमका अनुसार सत्तापक्ष कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव फिर्ता नलिने भनेपछि सहमति हुननसकेको हो । ‘हामीले उहाँहरु (सत्तापक्ष)लाई साँच्चै संसदको गतिरोध अन्त्य गर्न चाँहेको हो भने प्रस्ताव फिर्ता लिनुस् भन्यौ,’ वामदेवले भने– ‘उहाँहरुले प्रस्ताव फिर्ता हुन्न् भन्नुभयो । प्रस्ताव हामीलाई मान्य छैन् । संसदमा हाम्रो अवरोध यथावत छ ।’
नेता गौतमले सत्तापक्षबाट प्याकेजमा सहमति खोज्ने प्रस्ताव आएको भन्दै त्यो आफूहरुले अस्वीकार गरेको बताए । ‘संशोधन प्रस्ताव फिर्ता नभएसम्म प्याकेजको कुरा हामीलाई मान्य छैन्,’ उनले भने ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन, चुनाव र महाअभियोगमा प्याकेजमै सहमति खोज्ने विषयमा छलफल भएको बताए । ‘प्याकेजबारे पार्टीभित्र आन्तरिक छलफल गर्ने समझदारी भएको छ,’ उनले भने- ‘संसदको गतिरोध अन्त्य हुन्छ कि हुन्न् त्यो हामीले भन्ने होइन् । सभामुखले गर्ने काम हो । त्यसबारे म केही भन्दिन् ।’












प्रतिक्रिया