काठमाडौं, २९ मंसिर । प्रमुख सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्नको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको खुलासा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक श्रेष्ठले भने- ‘अहिले निर्वाचनको लागि चाहिने ऐन तथा कानूनहरु बनाउनुपर्नेछ, थुप्रैहरु विद्येयकहरु संसदमा अड्किएका छन्, महाअभियोगको प्रस्ताव पनि संसदमा अड्किएको छ, त्यसैले दलहरुवीच बृहत्तर सहमतिको लागि पनि संशोधन प्रस्ताव केही समय थाँती राखेर अघि बढ्ने सहमति भएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता श्रेष्ठले संविधान संशोधन पनि अहिलेको अनिवार्य आवश्यकत्ता भएकोले यसबारमो प्रमुख दलहरुवीच बृहत्तर सहमति गरेर यसलाई टुँगोमा पुर्याउने स्पष्ट पारे । उनले भने- ‘तर एमालेले भनेजस्तो प्रस्ताव नै फिर्ता लिनुपर्ने कुराको कुनै औचित्य छैन् ।’ यद्यपी उनले प्रमुख प्रतिपक्षी दल एमालेले उठाएको चुनावको मुद्दापनि सही रहेको बताउँदै अहिले प्रमुख दलका शीर्ष नेताहरुवीच यो विषयमा सहमति बनेकोमा खुशी व्यक्त गरे ।
श्रेष्ठले भने- ‘मुलुकलाई नयाँ निकास दिनको लागि प्रमुख दलहरुवीच चुनाव गराउने सहमति भएको छ, यो अत्यन्तै सकारात्मक कुरा हो ।’ यद्यपी उनले संशोधन प्रस्ताव छलफल हुनेवित्तिकै एमालेले संसद अवरुद्ध गरेर गलत काम गरेको आरोप लगाए । उनले भने- ‘अहिले त प्रस्ताव सदनमा दर्ता मात्रै भएको छ, छलफलमा लाने पनि कार्यसुचि पनि छैन, एमालेले सदन अवरुद्ध गर्नु गलत हो, हामीलाई त आश्चर्य लागेको छ ।’
उनले काँग्रेस प्रमुख पार्टी भएकाले मुलुकलाई निकास दिनको लागि पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने- ‘तत्काललाई संशोधन प्रस्तावलाई थाँती राखेर भएपनि निर्वाचनमा अघि बढ्नुपर्छ, काँग्रेस स्थानीय तह वा निकाय जुनको चुनाव गरेपनि तयार छ, त्यसमा कुनै आपत्ति छैन्, त्यसो भयो भने राम्रो हुन्छ ।’
श्रेष्ठले संविधान संशोधन नै गर्न मिल्दैन भनेर एमालेका केही नेताहरुले भ्रम छर्ने काम गरिरहेको समेत गुनासो पोखे । उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सदनमा दर्ता भएको महाअभियोगको प्रस्ताव काँग्रेसको कारणले भन्दापनि एमालेको कारणले तुहिने खतरा रहेको औंल्याए ।












प्रतिक्रिया