काठमाडौं, २९ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच भइरहेको वार्ता र सम्वादलाई नजिकबाट नियाली रहेको जनाएको छ ।
राजधानीमा उपलब्ध मधेसी मोर्चाका नेताहरूको तमलोपाको केन्द्रिय कार्यालयमा बुधबार बसेको अनौपचारिक बैठकमा स्थानीय निकायको निर्वाचनमा प्रमुख ठूला दलको अभिव्यक्तिका विषयमा आशंका जनाइएको हो । ‘संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गरेर अगाडि बढ्ने बेला प्रमुख तीन दलहरूले अर्कैतिर कुरा मोडेको अनुभूति भएको छ’, स्रोतले भन्यो, ‘पहिला संविधान संशोधनको प्रस्तावलाई संसदबाट पारित गराउनु पर्छ ।’
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चाका सीमित नेताहरूवीच मुलुकको पछिल्लो राजनीतिक विषयमा अनौपचारिक कुराकानी भएको बताए । ‘संशोधनकै विषयमा सरकारले के गरिरहेको छ ? दलहरूले के गरिहरेका छन् भनेर समीक्षा मात्रै भयो’, उनले भने, ‘अत्यन्तै अनौपचारिक कुराकानी हो । सबै नेताहरू थिएनन् ।’
प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस, एमाले र माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न र स्थानीय निकायको चुनवामा बहस चलाइरहेका बेला मधेसी मोर्चाले सो विषयमा आशंका जनाउँदै संशोधन प्रस्ताव ब्याक हुने हो कि भनेर चिन्ता जनाएको छ ।
बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, हृदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, फोरम गणतान्त्रिका अध्यक्ष यादव, सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमन, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचवि केशव झालगायतका नेताहरूको सहभागिता रहेको थियो ।












प्रतिक्रिया