भैरहवा, २७ मंसिर । लोपोन्मुख खेल कुस्ती तथा विरहाको संरक्षण गर्ने उद्धेश्यले रुपन्देहीको छोटकीरामनगर गाविस वडा नं. ६ स्थित मझौली चौराहमा अन्तर्राष्ट्रिय स्तरको विराट दंगल कुस्ती प्रतियोगिता तथा भोजपुरी विरहा कार्यक्रम आज सोमबारबाट सुरु भएको छ ।
स्थानीय वजंरग समितिको आयोजनामा सुरु भएको खेलको आज एक कार्यक्रमकाबीच सांसद अब्दुल रज्जाकले उद्घाटन गरे । उनले कुस्तीलाई राष्ट्रिय खेलकुदमा समावेश गर्न सरकारलाई आग्रह समेत गरेका थिए ।
तराई–मधेशको पहिचान सहित जोडिएर रहेको कुस्ती खेलको व्यवस्थापन गर्न सरकार समेत उदासिन रहेको भन्दै सांसद रज्जाकले आफूले सक्दो पहल गर्ने बताए ।
आज भएको खेलमा भारतीय पहलमानहरुलाई पछि पार्दै नेपाली पहलमानहरुले बर्चस्व जमाएको खेल संरक्षण समितिका संरक्षक देवेन्द्र पाण्डे सागरले बताए ।
खेलमा नेपाल, भारत लगायत बांग्लादेश र पाकिस्तानका पहलमानहरुको सहभागिता रहेको बजंरग समितिका अध्यक्ष जय प्रकाश धवलले बताए । प्रतियोगितामा नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहं सहित २२६ जना पहलमानहरु भिड्ने उनले बताए । खेल बुधबारसम्म संचालन हुनेछ ।

प्रतियोगिताको बेस्ट पुरस्कार मोटरसाइकल, प्रथम पुरस्कार ५० हजार १ सय रुपैयाँ, द्वितीय पुरस्कार एलसिडी टि.भी., तृतीय पुरस्कार साइकल तथा ५ हजार नगद तथा सान्त्वना पुरस्कार टी–सर्ट लगायतका अन्य पुरस्कार राखिएको आयोजकको भनाई छ ।
कुस्ती खेलको साथै स्थानीय लोक संस्कृतिको जर्गेना गर्ने उद्वेश्यले भोजपुरी विरहा कार्यक्रमको आयोजना समेत गरिएको बंजरग समितिका जगदीश सहानीले बताए । बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती रहने सहानीले बताए ।
कार्यक्रममा १२ लाख अनुमानित खर्च हुने र सम्पूर्ण खर्च रकम स्थानीयहरुको पहलमा उठाइएको उनले बताए ।
















प्रतिक्रिया