४ मंसिर २०८३, शुक्रबार

एमाले संघीयता र समावेशिता विरोधीः शुक्ला

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarbendra-nath-shuklaभैरहवा, २५ मंसिर । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री शर्वेन्द्रनाथ शुक्लाले नेकपा (एमाले) संघीयता र समावेशिताको विरोधी भएको आरोप लगाएका छन् ।

तमलोप रुपन्देहीद्वारा शनिबार भैरहवा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शुक्लाले मधेस आन्दोलनबाट देशमा संघीयता र समावेशिता आएको जनाउँदै नेकपा एमालेले पहिले पनि र अहिले पनि त्यसको विरोध गरेको बताए ।

‘उहाँहरुले सुरुदेख नै संघीयता–समावेशिता चाहानु भएको थिएन, अहिले पनि उहाँहरुले संघीयताको विरुद्ध वक्तव्यबाजी गर्दै हिँडिरहनु भएको छ,’ शुक्लाले भने– ‘संघीयता हामीले कमाएको सम्पत्ति हो, मधेश आन्दोलनले कमाएको सम्पत्ति हो, उहाँहरु (एमाले) ले कमाएको सम्पत्ति होइन । त्यसैले उहाँहरुलाई संघीयताप्रति कुनै चिन्ता छैन ।’

अहिले प्रदेश नम्बर पाँचमा भइरहेको आन्दोलन गलत भएको जनाउँदै पूर्वमन्त्री समेत रहेका शुक्लाले भने- दुनियाँको इतिहास हेर्नोस्, उत्पीडित समुदायले अधिकार पाउँदा कहाँ र कुन देशमा देश विखण्डन भयो, उनले प्रश्न गरे । बरु उत्पीडित समुदायलाई अधिकार दिँदा देश सम्पन्न हुने उनको तर्क थियो । उनले पाँच नम्बर प्रदेश टुक्राउँदा दुवै प्रदेश आर्थिक रुपमा सबल र विकसित हुने दावी समेत गरे । उनले एमालेलाई सदन र सडक आन्दोलन छोडेर वार्तामार्फत् समस्याको समाधान खोज्न आग्रह गरे ।

अधिकांश समय एमालेप्रति खनिएका शुक्लाले एमालेले संसदीय व्यवस्था स्वीकारे पनि त्यसको व्यवस्था विरुद्ध अस्थिरता ल्याउनतर्फ उन्मुख रहेको आरोप लगाए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा आफैले हस्ताक्षर गरेको सहमति मान्दैनौं, तराई र पहाड अलग गराए देश विखण्डनमा जान्छ भन्नु रहस्यमय खेल भएको उनको तर्क थियो ।

संविधान संशोधन नभए देश दुर्घटनामा जाने र सधै देशमा अस्थिरता कायम रहनेतर्फ इंकित गर्दै महामन्त्री शुक्लाले मोर्चा र आफ्नो पार्टीले सधैभरी देशको हितमा काम गर्ने बताए । उनले भने– एमालेले देशलाई झन पछि झन अस्थिरतातर्फ धकेल्दै छ, जनतालाई दिग्भ्रमित बनाएर संकट निम्त्याउन लागेको छ, त्यसतर्फ मोर्चा सचेत छ ।

नागरिकताको सवालमा आफूहरुले अन्तरिम संविधानले गरेको व्यवस्था बमोजिम हुनुपर्ने धारणा राखेको जनाउँदै शुक्लाले भने– मोर्चा र तमलोपाले कहिले भन्यो अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री र देशका प्रमुख अंगहरुमा पुर्याउनुपर्छ भनेर, उनले प्रश्न गरे । उनले अंगीकृतलाई प्रमुख पदमा नभई समानताको व्यवहार गर्नुपर्छ भन्ने माग मात्र आफूहरुको रहेको उनको धारणा थियो ।

प्रकाश न्यौपानेबाट ।