भैरहवा, २२ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनमा आवद्ध भैरहवाका ब्यवसायीहरु बुधबार भैरहवामा नारा जुलुस गर्दै सडकमा निस्कीएका छन् ।
भैरहवा क्षेत्रका सबै उद्योग ब्यवसायीक प्रतिष्ठान बन्द गरी ब्यवसायीहरु सडकमा अपराधीलाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, व्यवसायी एकता जिन्दाबाद भन्दै नाराबाजी गर्दै सडकमा उत्रिएका हुन् ।
उनीहरुले मंगलबार सांझ सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेमाथि भएको गोली प्रहारको भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्माको नेतृत्वमा रहेको टोलीमा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य शान्ता जिसी, निवर्तमान अध्यक्ष विष्णु प्रसाद शर्मा, संघका पूर्व अध्यक्षहरु तथा कार्यसमिती सदस्यहरु, सिद्धार्थ यातयातका अध्यक्ष सुर्यकुमार सारु मगर, नेपाल रोडा ढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली, सिद्धार्थ एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साटा) का अध्यक्ष चन्द्र बहादुर थापा, नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष कृष्ण घिमिरे लगायत सयौंको संख्यामा रहेका उद्योगी व्यवसायीकोे नारा जुलुस सहितको रयाली कालिकापथबाट, आवारोड, प्रहरी टोल, मिलनचौंक, गल्लामण्डी हुैंदै पुनः मिलनचौंक भएर मैत्री पथ हुदैं जिल्ला प्रशासन कार्यालयमा पुगी सिडिओलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
ब्यसायीहरुले उद्योगी व्यसायीमाथि ज्यान लिने उद्धेश्यको साथ भएको गोली प्रहारले उद्योगी व्यवसायीको सुरक्षामा चुनौती थपेको जनाउदैं तत्काल भैरहवा क्षेत्रको शान्ति सुरक्षालाई चुस्त बनाउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई ज्ञापन पत्र बुझाउदैं शान्ति सुरक्षाको प्रत्याभूत गर्न माग गरेका थिए ।
एमालेद्वारा भत्र्सना
सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नागरिक अभियानका अगुवा कुलप्रसाद न्यौपानेमाथि भएको गोली प्रहारको घटनाप्रति नेकपा एमाले रुपन्देहीले घोर भत्र्सना गरेको छ ।
पार्टिका जिल्ला अध्यक्ष शिवप्रसाद सुवेदीले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा अगाडी भनिएको छ “व्यवसायी न्यौपानेको हत्या प्रयास स्वरुप नै हिंजो बेलुका भैरहवामा गोली प्रहार भएको हामीले ठहर गरेका छौं । भैरहवाजस्तो व्यस्त बजार क्षेत्रमा, एकजना निहत्था व्यवसायीलाई उनकै पसल प्रतिष्ठानमा बसिरहेका बेलामा एक्कासी ताकेर गोली प्रहार हुनु संयोग मात्रै मान्न सकिंदैन् । यो घटना कुनै सुनियोजित र षड्यन्त्रको एउटा पाटोका रुपमा भएको हुनसक्ने हामीले आशंका गरेका छौं । यस्तो घटनामा संलग्न र योजनाकारहरु समेत सबैलाई यथाशीघ्र खोजबिन गरी कानुनी दायरामा ल्याउन पनि हामी सरकारका सम्बन्धित निकायसित आग्रह गर्दछौं । ”
विज्ञप्तीमा अगाडी भनिएको छ “भैरहवामा उद्योग वाणिज्य संघकै अगुवाइमा प्रदेश विभाजनविरुद्ध विशाल जनप्रदर्शन भएलगत्तै सोही संस्थाका उपाध्यक्षमाथि हत्या प्रयास स्वरुप गोली प्रहार हुनु सामान्य घटना होइन । यसका पछाडि अनेकौं कडीहरु पनि लुकेका हुन सक्छन् । राज्यका सम्बन्धित निकायले यो घटनासंग सम्बन्धित सबै अपराधीहरुलाई कानुनको दायरामा ल्याउन सबै संयन्त्रको प्रयोग गरोस् भन्ने पनि हामी आग्रह गर्दछौं । शान्ति, सुव्यवस्था र अमनचयन कायम गराउने काममा राज्यको ध्यान आकर्षण गर्दै यो घटनाको तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गर्दछु ।”
यसैगरी नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष घनेन्द्र विक्रम पाण्डे र सिद्धार्थ नगर कमिटी अध्यक्ष रामबहादुर श्रेष्ठले पनि संयुक्त रुपमा हस्ताक्षरगरी छुट्टै विज्ञप्ती जारि गर्दै ब्यवसायी न्यौपानेमाथी भएको गोली प्रहारको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै दोषीलाई तत्काल कारबाहिको माग गरेका छन् ।
मोर्चाद्वारा पनि निन्दा
यसैबीच मधेसी मोर्चा रुपन्देहीले मंगलबार सांझ सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथी भएको गोली प्रहारको भत्र्सना गरेको छ ।
मोर्चाले बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा मोर्चाको कुनै संलग्नता नभएको पनि स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका नेताहरु ओमप्रकाश यादव गुलजारी, महेन्द्र यादव, मोहमद इश्लाम, रामु यादव, निलम यादव र अजय बर्माले मोर्चाको आन्दोलन शान्तिपूर्ण भएको स्पष्ट पार्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्ने कार्यमा मोर्चाले प्रहरी प्रशासनलाई सघाउने पनि जनाएका छन् । नेताहरुले एकातिर मोर्चाको धकधइमा भण्डाफोर कार्यक्रम र अर्कोतिर भैरहवामा उद्योग वाणिज्य संघको नेतृत्वमा र्याली आयोजना हुनु संयोग मात्रै भएको जनाउदैं मोर्चाले प्रतिकार गर्ने वा त्यस्तो गलत कार्य गर्ने कुनै नीति नलिएको पनि प्रस्ट पारेका थिए ।
मोर्चाका नेताहरुले गोली काण्डमा संलग्न प्रहरीद्धारा पक्राउ व्यक्ति मोर्चाको नेता तथा कार्यकता नभएको जिकिर गर्दै कथंकदाचित कुनै पार्टीसंग संलग्न भएको भएपनि कारबाही गर्ने कार्यमा अवरोध नगर्ने बताउदैं भने “अपराधी कुनै पनि पार्टिको सदस्य हुन सक्दैन । अपराधी अपराधी नै हो ।”
उद्योगी न्यौपानेमाथी मंगलबार सांझ गल्लामण्डीमा रहेको उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै आएर एक समुहले गोली प्रहार गरेर भागेको थियो । मंगलबार दिउंसो सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा संविधान संशोधनको विरोधमा हजारौंको संख्यामा प्रदर्शन भएको थियो । सो प्रदर्शनको नेतृत्व गरेका न्यौपानेलाई मोटर साइकलमा आएका २ जनाले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्दै भाग्दै गरेका व्यक्ति मध्ये एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरिसकेको छ भने अर्को एकजना फरार रहेका छन् । पक्राउ पनेमा रुपन्देही सिपवाका विरेन्द्र यादव रहेका छन् । उद्योगी न्यौपाने भने अहिले सकुशल रहेका छन् । गोली प्रहार भएलगत्तै राती नै उद्योगी व्वसायी एवं नागरिक समाजको सयौंको संख्यामा रहेको टोली जिल्ला प्रहरी कार्यालमा पुगी प्रहरी प्रशासनको ध्यानकर्षण गराएको थियो । अपराधिक कृयाकलापमा संलग्नलाई अबिलम्ब पक्राउ गर्न आग्रह गरेको थियो ।
सिआइबीद्वारा अनुसन्धान सुरु/चार दिनमै पत्ता लाग्ने
प्रहरीले अनुसन्धानको क्रममा हतियार सहित पक्राउ गरेको यादव र यादवले पोले अनुसारका अन्य एक जना मुश्लिम समुदायका व्यक्तिलाई बुधबार पक्राउ गरी गरी पोलियो ग्राफी अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
यता व्यवसायी माथी गोली प्रहार भए लगत्तै रुपन्देही प्रहरीको अनुरोधमा सिआइबीले पनि गोली काण्डलाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्नहरु जत्ति छन सबै दुइ चार दिनमै पत्ता लाग्ने जनाएको छ ।

















प्रतिक्रिया