४ मंसिर २०८३, शुक्रबार

एमालेको बन्दलाई चुनौति दिँदै प्रधानमन्त्री दाङ पुगे, सुरक्षामा सेना परिचालन (फोटो फिचर)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang-pm-2

– निशानदाजु भट्टराई

दाङ, २२ मंसिर । संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आह्वान गरेको बन्दलाई चुनौति दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आउनुभएको छ ।

राप्ती नदीको पुल शिलान्यास गर्न प्रधानमन्त्री बुधबार (आज) दाङ आउने कार्यक्रम तय भएसँगै एमालेका भातृ संगठन अनेरास्ववियु र युवा सङ्घले मंगलबार अपराह्न आजका लागि जिल्ला बन्दको घोषणा गरेको थियो ।

dang-pm-1

बन्दले पूर्वपश्चिम राजमार्गमापर्ने सिसहनियाँ गाविस र कालाकाटे–गढवा सडकखण्ड अन्तर्गत गोबरडिहा गाविसको महदेवा गाउँलाई जोड्ने पुलको शिलान्यास कार्यक्रममा दाङ आउन लागेका प्रधानमन्त्रीलाई प्रभावित पार्ने अनुमान गरिएको थियो ।

तर, एमालेको बन्दलाई चुनौति दिँदै प्रधानमन्त्री प्रचण्ड कडा सुरक्षाका बीच दाङ आउनुभएको हो । उहाँलाई प्रमुख जिल्ला अधिकारी, पुल निर्माण सहयोग समितिका अध्यक्ष नन्दकुमार चौधरीसहित स्थानीयले स्वागत गरेका छन् ।

सुरक्षा व्यवस्था कडा, सेना समेत परिचालन

dang-pm

बन्दका बीच प्रधानमन्त्री दाङ आएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । ठूलो संख्यामा सडकभरी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । कार्यक्रम स्थलमा प्रहरी, सशस्त्रसँगै नेपाली सेनालाई पनि परिचालन गरिएको छ । ‘पुरै संकटकालमा चेक गरेजस्तै कार्यस्थलमा चेकिंग भयो,’ कार्यक्रममा उपस्थित राजु चौधरीले भने ।

सुरक्षाका लागि कपिलवस्तुबाट पनि प्रहरी मगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ‘केन्द्रको निर्देशन अनुसार जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ,’ दाङका एसपी धिरजप्रताप सिंहले भने- ‘प्रधानमन्त्रीको सुरक्षामा विशेष टोली खटाइएको छ ।’

सिसाहनिया पुलको शिलान्यास

prachanda
बन्द छिचोल्दै आइपुगेका प्रधानमन्त्री प्रचण्डले दाङको सिसाहनिया महादेव पुलको शिलान्यास गर्नुभयो । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ ।

पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।

सो कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, सडक विभागका उपनिर्देशक सरोजकुमार श्रेष्ठ तथा दाङ जिल्लाका सांसद् र अन्य राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

dang-band-1 dang-band