१ कार्तिक २०८३, शनिबार

अण्डामा स्याङ्जा आत्मनिर्भर

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

egg– प्रकाश डोटेल

स्याङ्जा, २१ मंसिर । सरकारले लिएको लक्ष्यलाई आत्मसाथ गर्दै स्याङ्जा अण्डामा आत्मनिर्भर भएको छ । कृषि सहित लेयर्स फर्म संचालनमा कृषकहरुको आकर्षण बढेसँगै जिल्ला अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो ।

“स्याङ्जामा दैनिक १ लाख २० हजारको हाराहारीमा अण्डा उत्पादन हुने गर्दछ ।” जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत श्यामकृष्ण तिवारीले भने, “वार्षिक रुपमा स्याङ्जामा १ करोड ३८ लाख ७९ हजार १ सय ४ अण्डा आवश्यक पर्ने भएपनि ४ करोड ३२ लाख अण्डा उत्पादन हुने गर्दछ ।”

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक ४८ वटा अण्डा उपभोग गर्नुपर्ने हुन्छ । जिल्लामा साना ठूला गरि करिब ३० वटा लेयर्स फर्म संचालनमा छन् । पशु सेवा कार्यालयका अनुसार जिल्लामा संचालित लेयर्स फर्ममा करिब २ अर्बको लगानी रहेको छ ।

“जिल्लामा उत्पादीत अण्डा खपत हुन नसकेपछि पोखरा, बुटवल, बाग्लुङ् र मनाङ्मा निर्यात हुदै आएको छ ।” प्रतिदिन १ लाख अण्डा उत्पादन गर्ने जिल्लाकै ठूलो खिलुङ् कालिका एग्रो फार्मका निर्देशन शोभाकान्त ढकालले भने, “ उत्पादीत अण्डा जिल्लामै खपत हुन नसकेपनि अण्डाको बजार समस्या छैन् ।”

स्याङ्जा अण्डामा आत्मनिर्भर भएको घोषणा नभएपनि मासुमा समेत आत्मनिर्भर उन्मुख रहेको पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केहि समयभित्र जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने तयारी गरिएको छ ।

आर्थिक वर्ष २०७२÷०७३ को तथ्याङ्क अनुसार जिल्लामै झण्डै १ सय कुखुराका फार्म र करिब २ सय गाई, भैसी र बाख्रा पालनका फर्महरु संचालनमा छन् । दुध, दहि, ध्यू र मासुजन्य पशुपालनमा करिब ५ अर्बको लगानी रहेको कार्यालयले जनाएको छ ।