काठमाडौं, १० मंसिर । सुदूरपश्चिमका चर्चित पत्रकार कर्ण बोहराको ३६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
विगत एक वर्षदेखि राजधानीको भेनस इन्टरनेशनल हस्पिटलमा मिर्गाैला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आएका बोहरा शुक्रबार दिउँसो अस्पतालको बेडमा मृत अवस्थामा फेला परेका हुन् ।
अस्पताल पुगेका पत्रकार दीपक ओलीका अनुसार श्रीमतीको कुरुवा रहेका बोहरा शुक्रबार दिउँसो १ बजे श्रीमतीको बेडनजिकैको अर्काे बेडमा सुतेका थिए र तीन बजे डाक्टर पुग्दा मृत भेटिएका थिए । बोहराको निधनको कारण खुल्न सकेको छैन् ।
बोहराको घरबाट आफन्त आएपछि शनिबार दाहसंस्कार गरिने पत्रकार ओलीले बताए । उनका अनुसार बोहराको निधनपछि उनकी श्रीमतीको अवस्था चिन्ताजनक छ ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका पूर्वअध्यक्ष समेत रहेका बोहरा करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । बझाङको स्याडी गाविस घर भएका बोहरा लामो समयदेखि कञ्चनपुरमा बसेर पत्रकारिता गर्दै आएका थिए । बोहोराले केही समयदेखि मुटुको उपचार समेत गराउँदै आएका थिए ।
बोहराको निधनपछि अस्पतालमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायत पुगेका थिए ।
शोकमा डुब्यो सुदूरपश्चिम
पत्रकार बोहराको निधनपछि सुदूरपश्चिमका पत्रकार, उद्योगी, व्यापारी तथा राजनीतिज्ञले गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पत्रकार बोहराप्रति सबैले समवेदना व्यक्त गरिरहेका छन् ।











प्रतिक्रिया