काठमाडौं, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका विषयमा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेससँग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको परामर्शमा संविधान संशोधनको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । एमालेले संशोधन प्रस्तावमा अस्वीकार गर्ने जनाउ दिएपछि प्रधानमन्त्री दाहालले कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेको जनाइएको छ ।
स्रोतका अनुसार छलफलमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल भएको बुझिएको छ । केही मन्त्री र राज्यमन्त्रीहरू थप गरेर मन्त्रिपरिषद विस्तारको तयारीमा दाहाल लाग्नु भएको जनाइएको छ ।
प्रधानमन्त्री दाहालसँगको छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ र भौतिक योजना मन्त्री रमेश लेखकको सहभागिता रहेको थियो ।
यसअघि प्रधानमन्त्री दाहालले बिहीबार साँझ प्रमुख विपक्षी दल एमालेका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको थियो । परामर्श सकारात्मक रहेको थिएन ।











प्रतिक्रिया