काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले एमालेलाई साथ नलिएर हिँड्दा समस्या आउने चेतावनी दिनुभएको छ ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता डा.कोइरालाले भन्नुभयो, ‘एमालेलाई साथ नलिएर हिँड्दा समस्या हुन्छ । एमालेलाई पनि विश्वासमा लिएर जानु पर्छ ।’
मधेसी मोर्चालाई पनि बुझाउने र सम्झाउने प्रयास गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नु पर्छ । तर एमालेलाई उपेक्षा गरेर जानु हुँदैन । साथ लएर जानुपर्छ ।’
सोमबार राति बालुवाटारमा भएको प्रमुख तीन दलको बैठक संशोधनका विषयमा कुरा नमिलेर बिथोलिए लगत्तै कांग्रेसका प्रभावशाली नेता डा.कोइरालाले एमाले र मधेसी मोर्चालाई समझाउनु पर्ने बताउनुभएको हो ।
पाँच नम्बर प्रदेशलाई छुट्टउन नपाइने कांग्रेस नेता डा.कोइरालाको भनाइ छ । ‘पाँच नम्बर प्रदेशका साथीहरूसँग भेट हुँदा हामीलाई छुट्टाउन पाइँदैन भन्नु भएको छ’, उहाँले भन्नुभयो, ‘स्थानीयहरू छुट्टिने पक्षमा छैनन् ।’
एमालेलाई उपेक्षा गर्दा भोलिका दिनमा अप्ठ्यारो पर्ने बताउनुभएका उहाँले भन्नुभयो, ‘एमालेविनै दुई तिहाइ पुग्ला ! के संविधान बनाउँदा ९० प्रतिशत थिएन ? अहिले कहाँ छौँ हामी ? संशोधन पास त गरौँला ! पछि कार्यान्वयनमा समस्या हुन्छ ।’











प्रतिक्रिया