
काठमाडौँ, ६ मङ्सिर । चौधौँ वादोकाई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल ‘टिम च्याम्पियन’ बनेको छ ।
भारतको कोलकातामा यही मङ्सिर ३ देखि ५ गतेसम्म भएको प्रतियोगितामा नेपाल १६ स्वर्ण र छ रजतसहित ‘टिम च्याम्पियन’ बन्न सफल भएको टोली व्यवस्थापकको भूमिका निर्वाह गरेका नेपाल वादोकाई कराते सङ्घका महासचिव नारायणबहादुर मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा सनम लिम्बू र मिराज डङ्गोलले दोहोरो स्वर्ण जिते । गोमन गिरी, रुपेश आले मगर, सज्वल बुढाथोकी, विजय सापकोटा, निरज भण्डारी, सुवास देउजा, सुमित्रा अधिकारी, अन्जली लिम्बू, शिव भण्डारी, एलिना विक, सिर्जना महर्जन र पूजा महर्जनले विभिन्न स्पर्धामा नेपाललाई एक–एक स्वर्ण दिलाए ।
त्यस्तै गोमन, राकेश खत्री, रपेश, सुवास, सुशान्त तुलाधर र अन्जलीले एक÷एक रजत जिते । टोली प्रशिक्षकमा वादोकाई सङ्घका कोषाध्यक्ष सनमान गोले छन् । सुरेश बस्नेत र सुजेन्द्र केसीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेश गरी चार राष्ट्रको सहभागिता रहेको वादोकाई सङ्घले जनाएको छ । रासस















प्रतिक्रिया